एक्स्ट्रिम इनर्जी ड्रिंक्सः ‘गेम चेन्जर’ कि मन्दविष ?

एक्स्ट्रिम इनर्जी ड्रिंक्सः ‘गेम चेन्जर’ कि मन्दविष ?

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । ‘पानीले पुग्दैन है, एक्सट्रिम नै चाहिन्छ’ ! सुन्दा जोसिलो लाग्ने यो नारा अचेल नेपालका सहरदेखि गाउँसम्मका चिया पसल, किराना स्टोर र स्कुले केटाकेटीको जिब्रोमा झुन्डिएको सुनिन्छ ।

एग्रो थाई फूड्स प्रालिले उत्पादन गरेको बताइने एक्स्ट्रिम इनर्जी ड्रिंक्सले खेलकुद प्रायोजनदेखि सामाजिक सञ्जालका भित्तासम्म यसरी कब्जा जमाइसकेको छ कि धेरै युवालाई यो स्टाइलको पर्याय नै बनेको छ । तर सोही पेय पदार्थ अहिले स्वास्थ्यकर्मी, अभिभावक र सचेत उपभोक्ताहरूको सुनियोजित विरोधको केन्द्रमा छ ।

यस्तोमा के ‘इन्स्ट्यान्ट इनर्जी’ को प्याकेटभित्र एक्स्ट्रिम इनर्जी ड्रिंक्सको साँच्चिकै कुनै ‘गेम चेन्जर’ लुकेको छ, वा बिस्तारै घोलिँदै गरेको मन्दविष मात्र छ त ? भनेर प्रश्न उठिरहेको छ । ३३० मिलिलिटरको एक बट्टा १४० रुपैयाँ पर्ने यो पेय पदार्थलाई उत्पादक कम्पनी एग्रो थाई फूड्स प्रालिले ‘गेम चेन्जर ऊर्जा’ भनी प्रचार गरिरहेको छ।

कम्पनीले यसलाई “उच्च क्याफिन र भिटामिनयुक्त” भन्दै प्रत्यक्ष घामबाट टाढा सुख्खा र चिसो ठाउँमा भण्डारण गर्न र सिल तोडिएको बट्टा नकिन्न उपभोक्तालाई सुझाब दिएको छ । अझ कम्पनीले त मधुमेह रोगी, बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिला र क्याफिनप्रति संवेदनशील व्यक्तिले यसको सेवन गर्न नहुने नै स्वीकार नै गरेको छ ।

तर अचम्म के छ भने, यति संवेदनशील चेतावनी सर्वसाधारण नेपालीले बुझ्ने भाषामा नभएर सेतो पृष्ठमा साना अक्षरमा अंग्रेजीमा मात्र लेखिएको छ । फलस्वरूप, बालबालिका, पाका उमेरका व्यक्ति र पढ्न नजान्ने समुदाय निर्धक्क यसलाई ‘चिसो पेय’ ठानेर पिइरहेका छन् । बट्टामा छापिएको क्युआर कोड स्क्यान गर्दा कम्पनीको कानुनी विवरण वा गुणस्तर प्रमाणपत्र पाइँदैन, बरु उपभोक्ताको व्यक्तिगत फोन नम्बर र अन्य डेटा मागिन्छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा उत्पादन हुने भनिएको यो पेयको आधिकारिक दर्ता ठेगानासमेत रहस्यमय छ ।

एक्स्ट्रिमको प्याकेट पढ्नेले क्याफिन मात्र होइन नभएर ११ भन्दा बढी सामग्रीहरूको अद्भुत संयोजन रहेको देख्नेछन् । ती सबैको सम्मिश्रणले मानव शरीरमा के गर्छ भन्नेबारे भने कम्पनी पूर्ण मौन छ । स्वास्थ्य विज्ञहरूले भने एक्स्ट्रिम इनर्जी ड्रिंक्समा भएको मन्दविषबारे स्पष्ट शब्दमा रसायनिक जालोको पोल नै खोलिदिएका छन् ।

स्वास्थ्य विज्ञका अनुसार एक ३३० मिलिलिटरको एक्स्ट्रिमको बट्टामा करिब १०० मिलिग्राम क्याफिन हुन्छ । एक कप स्ट्रङ कफी बराबरको यो मात्रा दिनमा दुई–तीन बट्टा पिउने युवाका लागि स्नायु प्रणालीमा सिधा आघात बन्न पुग्छ । टोरिनसँग मिसिँदा यसले मुटुको धड्कन अनियमित बनाउने (एरिथमिया), रक्तचाप उच्च बनाउने र निद्रा चक्रलाई ध्वस्त पार्ने जोखिम निम्त्याउँछ । अझ यसको लगातार सेवनले मस्तिष्कको न्यूरोट्रान्समिटर सन्तुलन बिगारी लत बसाल्ने र निकासीको समयमा चिन्ता, कम्पन र अवसाद जन्माउने अध्ययनहरूले देखाएका छन् ।

त्यस्तै एक्स्ट्रिममा प्रयोग भएको डेक्सट्रोज र ग्लुकोज–फ्रुक्टोज सिरप साधारण चिनीभन्दा छिटो रगतमा मिसिने उच्च ग्लाइसेमिक इन्डेक्सका कार्बोहाइड्रेट हुन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक वयस्कले दिनमा थपिएको चिनी २५ देखि ३६ ग्रामभन्दा बढी नखान सिफारिस गरेको छ । तर एउटा मात्र एक्स्ट्रिमको बट्टाले सजिलै यो सीमा पार गराउँछ । लामो समय यस्तो सिरप सेवन गर्नाले भिसेरल फ्याट जम्ने, फ्याटी लिभर हुने, इन्सुलिन प्रतिरोध बढ्ने र टाइप २ मधुमेहको सम्भावना तीव्र हुन्छ ।

त्यस्तै बट्टाको चहकिलो रङ उपभोक्ता लोभ्याउने हतियारमात्र नभएर, स्वास्थ्यका लागि गम्भीर खतराको संकेत पनि हो । अन्तर्राष्ट्रिय अर्बुद रोग अनुसन्धान संस्था (आईएआरसी) ले इनर्जी ड्रिंकमा प्रयोग हुने कतिपय कृत्रिम रङहरूलाई मानवका लागि “सम्भावित क्यान्सरकारी” (ग्रुप २बी) को सूचीमा राखेको छ । यी रसायनिक रङले कोषीय क्षति र डीएनए म्युटेसन गराउन सक्ने जोखिम हुन्छ ।

सामान्यतया इनर्जी ड्रिंकको आयु लम्ब्याउन मिसाइने सोडियम बेन्जोएट जस्ता प्रिजर्भेटिभले सिट्रिक एसिड वा एस्कर्बिक एसिड (भिटामिन सी) सँग रासायनिक प्रतिक्रिया गर्दा बेन्जिन बनाउँछ । मेडिकल साइन्सले बेन्जिनलाई प्रत्यक्ष क्यान्सरजनक तत्व मानेको छ, जसले ल्युकेमिया जस्ता रक्त क्यान्सरको जोखिम बढाउँछ । नेपालको गर्मी मौसम र खुद्रा पसलको घाम लाग्ने भुईं शेल्फमा राखिएका यस्ता बट्टा एउटा मिनी क्यान्सर कारखाना नै बन्न सक्छन् ।

अझ सबैभन्दा घातक मनोवैज्ञानिक चाल त के हो भने इनर्जी ड्रिंकलाई तिर्खा मेट्ने ‘पानीको विकल्प’ जसरी प्रस्तुत गरिन्छ । वास्तवमा क्याफिन एउटा डाइयुरेटिक हो अर्थात यसले शरीरबाट तरल पदार्थ विस्थापन तीव्र बनाइ थप निर्जलीकरणतर्फ धकेल्छ । अर्थात गर्मीयाममा बट्टा खोलेर ‘तिर्खा’ मेट्ने युवा अन्जानमा आफ्नो मिर्गौला र हृदयलाई दोब्बर तनावमा राखिरहेको हुन्छ ।

नेपाल सरकारले सन् २०१९ मा क्याफिनयुक्त इनर्जी ड्रिंकको आयातमा रोक लगाएको थियो । तर जब आयात बन्द भयो, स्वदेशी उत्पादनका नाममा झनै न्यून गुणस्तर नियन्त्रण भएका पेय बजार छ्यापछ्याप्ती भए । दुर्भाग्य, नेपालमा इनर्जी ड्रिंकका लागि क्याफिनको अधिकतम सीमा, चिनीको मात्रा, अनिवार्य स्वास्थ्य चेतावनीको भाषा वा बालबालिकालाई बिक्रीमा रोक लगाउने कुनै स्पष्ट अनिवार्य मापदण्ड तोकिएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग साना व्यवसायीमाथि अनुगमनको फोटोसत्र त चलाउँछ, तर एक्स्ट्रिम इनर्जी ड्रिंक्स जस्ता ठूला पहुँचवाला उत्पादकले जनस्वास्थ्यमाथि खेल्दै गर्दा नियामकीय मौनता छाएको आरोप सर्वत्र लागिरहेको छ ।

समग्रमा इनर्जी ड्रिंक्सले क्षणिक उत्साह, झुटो सतर्कता र गेमर/खेलाडी हुँ भन्ने सामाजिक स्टाइल दिन सक्ला । तर त्यो ‘हाइ’ सेलाएपछि शरीरले अनिद्रा, मोटोपन, उच्च रक्तचाप, मधुमेह, कलेजो खराबी, मानसिक अवसाद र दीर्घकालमा क्यान्सरसम्मको जोखिम ब्याजसहित तिर्न थाल्छ । विडम्बना, जसलाई ‘गेम चेन्जर’ भनियो, त्यही नै भविष्यको ‘गेम ओभर’ बन्न सक्छ ।

Logo