विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र साइमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षणप्रति आफ्नो अटल प्रतिबद्धता पुनः पुष्टि गरेका छन् । ‘एभरेष्ट १° इनिसियटिभ’ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रको दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवद्र्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा वातावरणीय संरक्षणमा आफ्नो सहकार्यलाई थप सुदृढ बनाएका हुन् ।
बीवाइडीको “कूल द अर्थ बाइ १° सेल्सियस” अवधारणाबाट प्रेरित भई सन् २०२५ मा सुरु भएको यो साझेदारीले सगरमाथा र खुम्बु क्षेत्रका गम्भीर वातावरणीय चुनौतीहरूको समाधानका लागि नवीन तथा दीर्घकालीन उपायहरू विकास गर्दै आएको छ । हिमालमा अझै पनि ८० टनभन्दा बढी फोहोर, अक्सिजन सिलिन्डर, प्लास्टिक, आरोहण सामग्री तथा मानवजन्य फोहोर रहेको अनुमानले हिमनदी, जलस्रोत र स्थानीय समुदायमाथि बढ्दो दबाब सिर्जना गरेको छ ।

सन् २०२६ को वसन्तकालीन आरोहण सिजनले सगरमाथा संरक्षणमा एक महत्वपूर्ण कोशेढुङ्गा स्थापित गरेको छ । सीबीसीएफको सहयोगमा एसपीसीसीले पहिलो पटक क्याम्प–२ (६,४०० मिटर) मा ‘एभरेष्ट रेन्जर्स बेस’ स्थापना गरी दुई जना एभरेष्ट रेन्जर्स परिचालन गरेको छ । यी रेन्जर्सले उच्च हिमाली क्षेत्रमा वातावरणीय मापदण्डको अनुगमन, फोहोर व्यवस्थापनको निगरानी, आरोही सचेतना अभिवृद्धि तथा आपतकालीन सहयोग सेवामा केन्द्रित भूमिका निर्वाह गरे । विशेषगरी, क्याम्प–३ र क्याम्प–४ बाट प्रत्येक आरोहीले कम्तीमा २ केजी फोहोर अनिवार्य रूपमा फिर्ता ल्याउनुपर्ने नियमको प्रभावकारी अनुगमन रेन्जर्सले गरेको एसपीसीसीले जनाएको छ ।
यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से गरी कुल ७०१ जना आरोही सहभागी भए, जुन यी हिमालहरूको इतिहासकै सबैभन्दा उच्च आँकडा हो । उच्च सहभागिताका बावजुद एसपीसीसीको प्रभावकारी फोहोर व्यवस्थापन प्रणालीले उल्लेखनीय सफलता हासिल गर्यो । क्याम्प–३ र साउथ कोल क्षेत्रबाट १ हजार २२६ किलोग्राम जलाउन मिल्ने फोहोर, २१० वटा ईपीआई ग्यास क्यानिस्टर तथा १ हजार ७६९ वटा मानव मल व्यवस्थापनका लागि प्रयोग गरिएका ‘पुप ब्याग’ तल्लो क्षेत्रमा झारियो । थप रूपमा, खुम्बु आइसफल प्रवेशद्वारस्थित एसपीसीसी चेकपोइन्ट मार्फत क्याम्प–२ बाट मात्रै ६ हजार ५२२ किलोग्राम फोहोर संकलन गरिएको छ । यसमा ३ हजार ५३३ केजी टिन तथा क्यान, ८२७ केजी भान्साजन्य फोहोर, ८०३ केजी कागजजन्य सामग्री, ६७६ केजी प्लास्टिक, ६१६ केजी टेन्ट तथा कपडा र ६७ केजी डोरी सामेल छन् ।

सीबीसीएफले एयरलिफ्ट टेक्नोलोजिजसँगको सहकार्यलाई निरन्तरता दिँदै हिमाली फोहोर व्यवस्थापनमा नवीन आयाम थपेको छ । परीक्षण चरणमा क्याम्प–१ बाट २८३ किलोग्राम फोहोर ड्रोनमार्फत सफलतापूर्वक संकलन तथा ढुवानी गरिएको थियो, जसले दुर्गम उचाइमा प्रविधिमैत्री व्यवस्थापनको सम्भावनालाई साकार बनाएको छ । स्वच्छ ऊर्जा प्रवद्र्धनतर्फ, एभरेष्ट बेस क्याम्पमा सीबीसीएफकै सहयोगमा ५ केभीए क्षमताको सौर्य ऊर्जा प्रणाली स्थापना गरिएको छ, जसले परम्परागत इन्धन निर्भरता घटाउँदै भरपर्दो ऊर्जा स्रोतको सुनिश्चितता गरेको छ ।
‘एभरेष्ट १° इनिसियटिभ’को तीन–चरणीय कार्ययोजना
सहकार्यलाई दिगो बनाउन ‘एभरेष्ट १° इनिसियटिभ’लाई तीन स्पष्ट चरणमा विभाजन गरिएको छ ।
पहिलो चरण (२०२६) : वातावरणीय चार्टर निर्माण, वित्तीय योजना, सरोकारवालासँग छलफल, प्रशिक्षण सामग्री विकास, दुई रेन्जर परिचालन, अभिमुखीकरण भिडियो निर्माण तथा प्रारम्भिक ड्रोन सञ्चालन।
दोस्रो चरण (२०२७) : चार्टरको कार्यान्वयन, वातावरणीय व्यवस्थापक तालिम, ६ जना रेन्जरको परिचालन, क्याम्प–४ मा फोहोर संकलन केन्द्र निर्माण, दुई ड्रोनको पूर्ण सञ्चालन, १४० वटा मानव फोहोर व्यवस्थापन उपकरण विस्तार तथा याक टोली परिचालन।
तेस्रो चरण (२०२८) : पूर्ण दिगोपनको लक्ष्यसहित रेन्जर परिचालनलाई निरन्तरता, थप तालिम, सम्पूर्ण पूर्वाधार पूर्ण क्षमतामा सञ्चालन, २०० वटा मानव फोहोर व्यवस्थापन उपकरण परिचालन तथा आरोही शुल्कमा आधारित आत्मनिर्भर वित्तीय मोडेलमा रूपान्तरण।
सन् १९९१ मा शेर्पा समुदायको नेतृत्वमा स्थापित एसपीसीसीले सगरमाथा क्षेत्र र सगरमाथा राष्ट्रिय निकुञ्जभित्र तीन दशकभन्दा लामो समयदेखि वातावरण संरक्षण, फोहोर व्यवस्थापन, आरोही सुरक्षा तथा दिगो विकासमा अग्रणी भूमिका खेल्दै आएको छ। सन् २०२४ मा स्थापित सीबीसीएफ साईमेक्स इन्क प्रालि र बीवाइडीको संयुक्त पहल हो, जसले शिक्षा, स्वास्थ्य, नवीकरणीय ऊर्जा र सामुदायिक विकासका माध्यमबाट हिमाली क्षेत्रको संरक्षणमा नयाँ साझेदारी स्थापित गरेको छ।
यस सहकार्यको निरन्तरताले सगरमाथा क्षेत्रको पारिस्थितिकीय सन्तुलन जोगाउन मात्र नभई, स्वच्छ ऊर्जा, प्रविधि संयोजन र स्थानीय नेतृत्वको अनुकरणीय नमूना प्रस्तुत गर्दै आगामी दशकहरूका लागि दिगो संरक्षण मोडेल खडा गर्ने विश्वास लिइएको छ।





























प्रतिक्रिया