घुससहित पक्राउ परेका महानिर्देशकसमेत तीनविरुद् मुद्दा दर्ता

घुससहित पक्राउ परेका महानिर्देशकसमेत तीनविरुद् मुद्दा दर्ता

केन्द्रबिन्दु
0
Shares

एस.के.बैश्य । काठमाडौं, ४ पुस ।

घुससहित पक्राउ परेका महानिर्देशकसमेत शाखा अधिकृत तथा नायब सुब्बाविरुद्व मंगलबार मुद्दा दर्ता गरिएको छ ।

वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डेसहित शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खड्गबहादुर के.सी. गरी तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगको मुद्दा विशेष अदालतमा दर्ता गरेको हो ।

चार साताअघि महानिर्देशक पाण्डेसहित विभागका शाखा अधिकृत पौडेल तथा नायव सुब्बा खड्गबहादुर के.सी.लाई आयोगले १० लाख रुपैैयाँ घुससहित पक्राउ गरेको थियो ।

एक म्यानपावर कम्पनीको कामकाज तथा बैंक खाताको कारोबारसमेत विभागले विना कारण रोक्का राखेको थियो । कम्पनीले उक्त रोक्का फुकुवा गराउनका लागि सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको थियो । अदालतले उक्त कम्पनीको पक्षमा फैसला गर्दै रोक्का फुकुवा गरी नियमानुसार काम गर्न दिनु भनी विभागलाई आदेश दिएको थियो ।

महानिर्देशक पाण्डेसहित उनीहरुले अदालतको आदेश नमानी उक्त कम्पनीको रोक्का फुकुवा नगरी विभिन्न बहानामा म्यानपावरका संचालकसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगले पक्राउ गरेको थियो ।

कारोबार रोक्का खुलाउने भन्दै बानेश्वरको इन्द्रेणी क्याफेमा अधिृकत पौडेल र नासु केसी पक्राउ परेका थिए । महानिर्देशक पाण्डेले नै पैसा लिन पठाएको खुलेपछि उनी पनि पक्राउ परेका थिए ।

 

Logo