मेरियट इन्टरनेशनलअन्तर्गतका ४० अर्बको लगानीमा फ्रेन्चाइज्ड मेरियट होटल खुल्दै

मेरियट इन्टरनेशनलअन्तर्गतका ४० अर्बको लगानीमा फ्रेन्चाइज्ड मेरियट होटल खुल्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो होटल तथा आतिथ्य कम्पनीहरूमध्येको मेरियट इन्टरनेशनलले नेपालमा व्यवसाय विस्तारलाई तीव्रता दिएको छ। सो क्रममा यस ब्रान्डका चेन होटलको नेपालमा उपस्थिति बढ्न थालेको छ।

अहिले नै मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजमा मेरियट काठमाडौं, मोक्सी, फेरिफिल्ड, अलफ्ट र सोल्टी होटलमा अटोग्राफ कलेक्सन सञ्चालनमा छन्। अब चौधरी ग्रुपको सीजी हस्पिटालिटीले मेरियटकै चर्चित ब्रान्ड द रिट्ज–काल्र्टन भित्र्याउँदै छ भने वेस्टिन होटल तथा रिसोर्टसँग पनि रणनीतिक साझेदारीको तयारी गरेको छ।

यता अस्ट्रेलियन व्यवसायी शेष घले पनि यो ब्रान्ड नेपाल भित्र्याउने तयारीमा छन् भने मेरियट काठमाडौं बनाएको एमएस ग्रुपअन्तर्गतको एभरेष्ट हस्पिटालिटीले भक्तपुरमा पाँचतारे होटल बनाएर मेरियटकै जेडब्लु मेरियट ब्रान्डमा सञ्चालनमा ल्याउने बताएको छ। यसरी केही वर्षभित्रै मेरियटअन्तर्गतकै चारवटा ब्रान्ड थपिने निश्चित भएको छ।

नेपालको आतिथ्य उद्योगमा मेरियट ब्रान्डको उपस्थिति बढेपछि मेरियट इन्टरनेसनलका प्रतिनिधि नेपाल आउने भएका छन्। सीजी हस्पिटालिटीसँग मेरियटको रणनीतिक साझेदारीसम्बन्धी कार्यक्रमका लागि नेपाल आउन लागेको जनाइएको छ।

सीजी हस्पिटालिटीले काठमाडौंको ठमेलमा मेरियटअन्तर्गतको चर्चित ब्रान्ड द रिट्ज–काल्र्टन होटल निर्माण गर्न लागेको छ। गत चैत १३ मा चौधरी ग्रुपले उक्त होटलको शिलान्यास गरेर करिब १५ अर्ब रुपैयाँ गर्न लागेको बताएको थियो।

चौधरी ग्रुपले हस्पिटालिटीमा लगानी बढाउँदै नयाँ होटल शृंखला ‘सीजी बाइ मेरियट’ सञ्चालन गरिरहेको छ। सीजी हस्पिटालिटीले मेरियटकै अर्को कम्पनी ‘वेस्टिन होटल तथा रिसोर्ट’सँग पनि रणनीतिक साझेदारीको तयारी गरेको छ।

मेरियट इन्टरनेशनलको स्थापना सन् १९२७ मा भएको थियो। हाल यसका ९ हजार सात सयभन्दा बढी होटल तथा रिसोर्टहरू १४० भन्दा बढी देशमा सञ्चालनमा छन्। व्यवसायी शेष घलेले मेरियटकै शेराटन ब्रान्डमा होटल चलाउने तयारी गरेका थिए। तर होटल निर्माणमा निकै समय लागेपछि शेराटनले सम्झौता रद्द गरेको थियो। उनी अहिले पुनः मेरियटकै कुनै ब्रान्ड ल्याएर होटल सञ्चालन गर्ने तयारीमा लागेका हुन्।

घलेले काठमाडौंको लैनचौरमा करिब १३ अर्ब रुपैयाँ लगानीमा होटल तयार गरेका छन्। उक्त होटल सञ्चालनको घोषणा चाँडै हुने गरी तयारी भइरहेको व्यवसायी घलेको सचिवालयले नेपालखबरलाई जानकारी दिएको छ।

मेरियट ग्रुपअन्तर्गतको ‘मोक्सी’ ब्रान्डको यो होटल नेपालमै पहिलो पटक भित्रिएको थियो। एमएस ग्रुपका अध्यक्ष एवं उद्योगी तथा होटल व्यवसायी शशिकान्त अग्रवालले मोक्सी ब्रान्ड भित्र्याएका थिए। मोक्सी युरोप र अमेरिका फैलिसकेको होटल ब्रान्ड हो। मोक्सी विश्वका २९ देशमा फैलिएको छ।

एभरेष्ट हस्पिटालिटीले केही वर्षभित्र ३ सय कोठाको मेरियटको प्रिमियम ब्रान्ड ‘जेडब्ल्यू मेरियट’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ। नेपालकै सबैभन्दा पूरानो पाँच तारे होटल द सोल्टी काठमाडौं पनि अन्तर्राष्ट्रिय होटल सञ्जाल मेरियटको ‘अटोग्राफ कलेक्सन’अन्तर्गत सञ्चालन भइरहेको छ। उक्त होटलले विश्वव्यापी बजारीकरणका लागि मेरियटसँग सहकार्य गरेको बताएको थियो।

मेरियट इन्टरनेशनलको अर्को फ्रेन्चाइज होटल हो ठमेलको अलफ्ट काठमाडौं ठमेल। छायाँ सेन्टरमा सञ्चालनमा रहेको यो होटल व्यापारिक कम्प्लेक्ससहित निर्माण भएको छ। करिब ५ अर्ब रुपैयाँको लगानीमा यो होटल सञ्चालनमा आएको हो।

Logo