उपाधि, कीर्तिमान र उत्कृष्टताबीच ‘मेसीविरुद्ध रोनाल्डो : प्रतिद्वन्द्विता’

उपाधि, कीर्तिमान र उत्कृष्टताबीच ‘मेसीविरुद्ध रोनाल्डो : प्रतिद्वन्द्विता’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भर्खरै बीबीसीले एउटा नयाँ वृत्तचित्र बनाएको छ, त्यसको शीर्षक छ, ‘मेसीविरुद्ध रोनाल्डो : प्रतिद्वन्द्विता’ । उपाधि, कीर्तिमान र उत्कृष्ट हुने चाहनाले मेसी र रोनाल्डोलाई अझैसम्म राम्रो खेल्न प्रेरित गरिरहेको छ । यसपल्ट उनीहरू अन्तिम पटक विश्वकप खेल्ने निश्चित जस्तै छ। यस्तोमा फेरि एकपल्ट बहस चल्न सुरु भएको छ, मेसी राम्रो कि रोनाल्डो ?

सन् २००७ मा फिफाको वर्षको उत्कृष्ट खेलाडीको अवार्ड ब्राजिलका काकाले जितेका थिए । तर त्यही बेला सबैको ध्यान खिच्ने काम युवा उमेरमा रहेका लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले गरे । त्यही बेला एक प्रकारले यी दुईबीचको प्रतिद्वन्द्विता सुरु भयो भन्दा हुन्छ ।

त्यसपछिको १० वर्ष बालोन डी‘अर होस् वा फिफाको अवार्ड । यिनै दुई खेलाडीले पालैपालो जिते। अझ सन् २००७ यता २९ मध्ये २० अवसरमा उत्कृष्ट खेलाडीको अवार्ड यिनै दुई खेलाडीले हात पारेका छन् ।विश्व फुटबल इतिहासमा यी दुई खेलाडीलाई सबैभन्दा बढी सफल मानिनेछ । उनीहरूबीचको आपसी प्रतिद्वन्द्विताले खासमा विश्व फुटबलको पछिल्लो दुई दशकलाई आकार दिएको छ । यो नै विश्व फुटबलमा एउटा बहसको विषय पनि रहँदै आएको छ।

वै खेलाडीसँग एउटै टिमबाट खेल्ने मौका पाएका अर्जेन्टिनी एन्जेल डी मारिया भन्छन्, ‘उनीहरूले विश्व फुटबललाई परिवर्तन गरे।’ तर कसैले मेसी राम्रो कि रोनाल्डो भनेर ठ्याक्कै उत्तर दिन सकेका छैनन्। अझ भनौं, व्यक्तिपिच्छे रोजाइ फरक हुन्छ । जस्तो, म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी रियो फर्डिनान्ड भन्छन्, राम्रो त रोनाल्डो हुन् । यता बार्सिलोनाका जाभी भन्छन्, मेसी जत्तिको खलाडी अरू कोही हुन सक्दैनन् ।

सन् २०१२ मा यही बहसलाई अगाडि बढाउन रोनाल्डोको एउटा भनाइ आएको थियो । रोनाल्डोले भनेका थिए, ‘फेरारी र पोसेमा तुलना नै हुन्न, दुवैको इन्जिन नै फरक छ । केही मलाई राम्रो भन्छन्, केही मेसीलाई । तर मलाई के लाग्छ भने म नै अगाडि छु ।’

तथ्यांकले के भन्छ ? गोल र युरोपेली च्याम्पियन्स लिग उपाधिका आधारमा रोनाल्डो अगाडि छन्। बालोन डी‘अर र जितेका उपाधिका आधारमा मेसी अगाडि छन् ।

स्पेनी फुटबल विशेषज्ञ गुलेम बालाग्वेले दुवै खेलाडीको आत्मकथा लेखेका छन् । उनको भनाइ छ, ‘मेरो लागि मेसी विश्व फुटबल इतिहासकै उत्कृष्ट हुन् । अनि रोनाल्डो इतिहासकै सबैभन्दा उत्कृष्ट गोलकर्ता।’ यस्तै पोर्चुगलका लागि रोनाल्डो र बार्सिलोनाका लागि मेसीसँग खेल्ने अवसर पाएका डेको भन्छन्, ‘दुवै विशेष छन् । दुवै नितान्त फरक खेलाडी हुन् ।’

उनका अनुसार केही वर्षका लागि राम्रो खेल्ने खेलाडी धेरै हुन्छन्। तर कसैले २० वर्षसम्म राम्रो खेल्छ भने त्यो असाधारण हो। अनि मेसी राम्रो कि रोनाल्डो भन्ने बहसको सबैभन्दा राम्रो पक्ष भन्नु नै यही हो। यो कहिले पनि चर्चा हुन रोकिने छैन र कहिल्यै एउटै उत्तर पनि आउने छैन, उने भने ।

खासमा यी दुई खेलाडी असाध्यै फरक त हुन नै । उनीहरूमा समानता पनि उत्तिकै छ । दुवै जन्मेहुर्केको साधारण परिवारमै हो । दुवैले आफ्नो सपना पूरा गर्न चाँडै घर छाडे । रोनाल्डो र मेसीबारे पुस्तक लेखेका जोनाथन क्लेग भन्छन्, ‘पछिल्लो २० वर्षमा उनीहरूले जसरी फुटबल खेले, सबैभन्दा पहिले त्यसको प्रशंसा हुनुपर्छ।’

सन् २००८ को च्याम्पियन्स लिग फाइनलमा बार्सिलोना र युनाइटेड भिडेका थिए । त्यो पहिलो मेसीविरुद्ध रोनाल्डो थियो। बालाग्वे भन्छन्, ‘त्यही बेला मेसी ला लिगामा उत्कृष्ट थिए भने रोनाल्डो प्रिमियर लिगमा। उनीहरूको खेल हेर्दा नै थाहा हुन्थ्यो, अब केही विशेष हुने क्रममा छ।’त्यति बेला उपाधि युनाइटेडले जित्यो, रोनाल्डोले बालोन डी‘अर पनि हात पारे। अनि दुई खेलाडीबीचको प्रतिद्वन्द्विता पहिलो पटक मज्जाले सुरु भयो।

सन् २००९ मा रोनाल्डो ८ करोड पाउन्डमा युनाइटेडबाट रियल गए । त्यसपछि त विश्व फुटबलकै सबैभन्दा ठूलो प्रतिद्वन्द्विता बार्सिलोनाविरुद्ध रियलले थप उचाइ पायो । २०१८ मा रोनाल्डोले युभेन्ट्सका लागि रियल छाड्दा उनीहरूले एक आपसमा पाँचपल्ट बालोन डी‘अर जिते । यी ९ सिजनमा रोनाल्डोले रियलका लागि ४ सय ५० गोल गरे । मेसीले भने बार्सिलोनाका लागि ४ सय ७१ गोल गरे।

यसबीचमा मेसीले स्पेनी ला लिगा बढी जिते। रोनाल्डो भने च्याम्पियन्स लिग। रोनाल्डो युभेन्ट्स लागेपछि दुई खेलाडीबीचको प्रतिद्वन्द्विता कम्तीमा स्पेनमा केही सेलायो, तर विश्वस्तरमा अझ बढ्यो। रोनाल्डो युभेन्ट्सबाट फेरि युनाइटेड गए । त्यसपछि अहिले साउदी अरेबियामा अल नासरका लागि खेलिरहेका छन्। मेसी भने बार्सिलोना छाडेर सुरुमा पेरिस सेन्ट जर्मेन (पीएसजी) गए। त्यसपछि इन्टर मियामीका लागि अमेरिका पुगे।

मेसीले यसैक्रममा पछिल्लो विश्वकप पनि जिते । रोनाल्डोले यो एउटा काम भने गर्न सकेका छैनन् । के त्यस अर्थमा मेसी एक पाइला भए पनि अगाडि छन् त ? सायद यो बहस अझै सकिएको छैन । यसपल्टको विश्वकपमा समूह चरणपछि अर्जेन्टिना र पोर्चुगलको भेट हुनसक्छ । यसले उनीहरूको प्रतिद्वन्द्वितालाई नयाँ मोड दिन सक्छ। यो पनि गजब हुनेछ। बिबिसिबाट

Logo