नेपाल र भारतबीच बैंकिङ प्रणाली र मोबाइल डिभाइसबाट रेमिट्यान्स सेवा सुरु

नेपाल र भारतबीच बैंकिङ प्रणाली र मोबाइल डिभाइसबाट रेमिट्यान्स सेवा सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतमा काम गर्ने नेपाली र नेपालमा रहेका भारतीय श्रमिकले अब आफ्नो मोबाइल वा बैंकिङ एपमार्फत घरमा पैसा पठाउन पाउने भएका छन्। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको प्राविधिक एकीकरण (इन्टिग्रेसन) पछि व्यक्ति–व्यक्तिबीच विप्रेषण आप्रवाह सेवा सम्भव भएको हो।

दुई देशका भुक्तानी प्रणाली नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) र युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) जोडिएपछि अब दुवैतर्फका आप्रवासी श्रमिकले आफ्नो बैंक खाता प्रयोग गरी रकम पठाउन सक्ने भएका हुन्।

२३ जेठमा दुई देशका प्रधानमन्त्रीहरूको उपस्थितिमा भएको समझदारीपछि पहिलो चरणमा व्यक्तिबाट व्यक्ति (पीटूपी) का लागि यो सेवा खुला गरिएको छ। यसमा भारतमा कार्यरत वा बसोबास गरिरहेका नेपाली नागरिक र नेपालमा कार्यरत भारतीय नागरिक मात्र यस सुविधाका लागि योग्य हुनेछन्।

नेपालका आधा दर्जन बैंकहरूमार्फत यो सेवाको प्रयोग गर्न सकिने भएको छ। एभरेस्ट, ग्लोबल आईएमई, माछापुच्छ्रे, नबिल र नेपाल एसबीआईमार्फत रकम पठाउन र प्राप्त गर्न सकिने तथा हिमालयन, एनएमबी र सिद्धार्थ बैंकबाट रकम प्राप्त गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ।

यस सेवामार्फत भारतबाट नेपालतर्फ प्रतिकारोबार २ लाख भारतीय रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरिएको छ। यसमा कुनै मासिक सीमा तोकिएको छैन। नेपालबाट भारततर्फ भने प्रतिकारोबार १५ हजार भारु र मासिक अधिकतम १ लाख भारुसम्म पठाउन सकिने सीमा तोकिएको छ। प्रतिकारोबार १५० भारु सेवा शुल्क तोकिएको छ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भारतमा श्रम गरिरहेका नेपालीले अब बैंकिङ प्रणाली र मोबाइल डिभाइस प्रयोग गरी कम लागतमा नेपालमा पैसा पठाउन सक्ने बताएका छन्। उनका अनुसार यो व्यवस्थाले हुन्डीजस्ता अवैध माध्यमलाई निरुत्साहित गर्दै श्रमिकको कमाइलाई सुरक्षित बनाउनेछ।

यसअघि उनीहरूले रेमिट्यान्स कम्पनीको सहारा लिनुपर्थ्यो। तर अब बैंकिङ प्रणाली र मोबाइल बैंकिङ प्रयोग गरेर आफ्ना आफन्तलाई व्यक्तिगत रूपमै रकम पठाउन सक्ने व्यवस्थाको सुरुवात भएको छ,’ पौडेलले भने, ‘केही समस्या परे त्यसलाई सम्बोधन गर्ने र विवाद निरूपण गर्ने स्पष्ट संयन्त्र हामीसँग छन्। कुनै कारोबार सफल भएन भने कति दिनभित्र त्यसको सेटलमेन्ट गर्नुपर्छ भन्ने व्यवस्था पनि छ।’

यो सेवा पूर्ण रूपमा डिजिटल र रियल टाइममा हुने एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले जनाए। नेपाल र भारतबीच वार्षिक झन्डै १.५ देखि २ अर्ब अमेरिकी डलरसम्मको कारोबार हुँदै आएको छ। ‘धेरै श्रमिकले अहिले पनि सीमा क्षेत्रमा नगद नै बोकेर आउजाउ गर्ने गरेका छन्, अब डिजिटल माध्यमबाट पैसा पठाउँदा सीमा क्षेत्रमा हुने नगदको जोखिम कम हुन्छ,’ उनले भने, ‘कारोबार पारदर्शी पनि हुन्छ। यसमा एनसीएचएल र एनपीसीआईले ट्रान्जेक्सन प्रोसेसिङको काम गर्छन् भने रकमको फन्ड मुभमेन्ट र सेटलमेन्टको काम नेपाल र भारतका सम्बन्धित बैंकहरूले नै गर्नेछन्।’

विज्ञप्ति जारी गर्दै क्रस–बोर्डर रेमिट्यान्स सेवाको औपचारिक सुरुवात भएको नबिल बैंकले जनाएको छ। बैंकमा खाता भएका भारतीय नागरिकले आफ्नो मोबाइल बैंकिङ एप ‘एन बैंक’ प्रयोग गरी भारतमा पैसा पठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ। यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा एउटा महत्त्वपूर्ण कदम भएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको प्रतिक्रिया छ। भारतमा गुगल पे, पेटीएम, फोन पेजस्ता गैरबैंकिङ माध्यम प्रयोग गर्नेहरूले पनि यो सेवा लिन सक्ने तर ती माध्यम कुनै न कुनै रूपमा बैंक खातासँग जोडिएको हुनुपर्ने एनसीएचएलका प्रमुख प्रधानले बताए।

अहिले नेपालका आठ बैंक यस प्रक्रियामा प्रत्यक्ष आबद्ध भइसकेका छन्। बिस्तारै देशका सबै बैंक तथा वित्तीय संस्थालाई यसमा जोड्ने तयारी भइरहेको राष्ट्र बैंकले जनाएको छ। यसले दुई देशबीचको वित्तीय कारोबारलाई आधुनिक र मर्यादित बनाउन मद्दत पुग्ने बैंकको ठहर छ।

Logo