काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उत्तम भ्लोन लामाले आफ्नो व्यावसायिक प्यानल सार्वजनिक गरेका छन् ।
बुधबार आयोजित एक कार्यक्रम बीच लामाले नेपालको संविधानको मर्मअनुरूप आफ्नो टिममा ३३ प्रतिशतभन्दा बढी महिला नेतृत्व समावेश गर्दै प्यानल सार्वजनिक गरेका हुन् ।
लामाको प्यानलबाट उपाध्यक्ष पदमा २४ मेगावाटको मादी खोला जलविद्युत आयोजनाकी कार्यकारी अध्यक्ष तथा कैलाश इनर्जी प्रालिकी अध्यक्ष सुसान कर्माचार्य (राजभण्डारी) उम्मेदवार बनेकी छन् । त्यस्तै, बैंकिङ र ऊर्जा क्षेत्रमा लामो अनुभव भएकी एवं ‘वुमन इन इनर्जी नेपाल’ की अभियन्ता कविता पोखरेल उप–महासचिव तथा प्रोजेक्ट फाइनान्सिङ र ऊर्जा व्यवस्थापनकी अनुभवी एवं ह्वाइट लोटस पावर लिमिटेडकी कार्यकारी निर्देशक सुमन जोशी सचिव पदको उम्मेदवार रहेका छन् ।
यसैगरी कार्यसमिति सदस्यतर्फ ऊर्जा, पूर्वाधार, जलवायु उत्थानशीलता तथा सामाजिक समावेशीकरण क्षेत्रमा सक्रिय व्यावसायिक नेतृत्वकर्ताहरू अभिज्ञा मल्ला, इशा श्रेष्ठ र प्रतिमा ज्ञवालीलाई समेटिएको छ ।
कार्यक्रममा वर्तमान कार्यसमितिका अध्यक्ष गणेश कार्कीले वरिष्ठ उपाध्यक्षका उम्मेदवार भ्लोनद्वारा प्रस्तुत प्रतिबद्धता र एजेन्डाहरूलाई पूर्ण समर्थन गर्दै इप्पानलाई सोही दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । सन् २०५७ मा जम्मा ४ वटा कम्पनी र ७ जना संस्थापक सदस्यबाट सुरु भएको इप्पान आज ६८८ कर्पोरेट सदस्यहरू र नवीकरण हुन बाँकी सहित ८०० भन्दा बढी कम्पनीहरूको विशाल र बलियो संस्था बनिसकेकोमा उनले खुसी व्यक्त गरे ।
त्यसैगरी, इप्पानका सल्लाहकार एलपी सावा लिम्बुले छिमेकी मुलुकहरूको उदाहरण दिँदै भारतमा ५ लाख ३९ हजार मेगावाट, चीनमा ३९ लाख ६० हजार मेगावाट र बंगलादेशमा ३२ हजार मेगावाट बढी विद्युत उत्पादन हुँदा पनि नेपालमा हाल करिब ४ हजार मेगावाट मात्र उत्पादन हुनुले अझै धेरै काम गर्न बाँकी रहेको औंल्याए ।
यस्तो छ लामाको टिमः
वरिष्ठ उपाध्यक्ष- उत्तम भ्लोन लामा
उपाध्यक्ष- उत्तरकुमार श्रेष्ठ, हिमप्रसाद पाठक, सुसन कर्माचार्य (राजभण्डारी), विक्रम बिष्ट, नरेन्द्र बल्लभ पन्थ
महासचिव- टी.एन. आचार्य
उपमहासचिव- कविता पोखरेल
कोषाध्यक्ष – शंकर बश्याल
सचिव- कुबेरमणि नेपाल, विजयमोहन भट्टराई, सुमन जोशी, अभिज्ञा मल्ल
कार्यसमिति सचिव- ईशा श्रेष्ठ, अनुप आचार्य, प्रतिमा ज्ञवाली, कदम केसी, वर्णन लामिछाने, जगतबहादुर पोखरेल, सरिता शाक्य, ज्योति गैरे, नारायण खनाल, सोमनाथ कँडेल ।





























प्रतिक्रिया