नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउन छलफल

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउन छलफल

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई प्रवर्द्धन उच्चस्तरीय द्विपक्षीय संवाद भएको छ । ‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक उक्त संवाद भएको हो ।

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा) र कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) नर्थ बंगाल जोनल काउन्सिलले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा विशेष गरी पूर्वी नेपाल र भारतको पश्चिम बंगालबीच व्यावहारिक तथा कार्यान्वयनयोग्य नीतिगत पहलमार्फत आर्थिक सहकार्य विस्तार गर्न सकिने अवसरबारे छलफल गरिएको थियो ।

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का उपाध्यक्ष कुनाल कयालले दुई देशबीच विश्वकै अद्वितीय आर्थिक तथा जनस्तरको सम्बन्ध रहेको उल्लेख गरे । द्विपक्षीय आर्थिक सम्भावनाको पूर्ण उपयोगका निम्ति संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।

सीआईआई नर्थ बंगाल जोनल काउन्सिलका अध्यक्ष सतीश मित्रुकाले नेपाल र भारतबीच रहेको विशाल सम्भावनालाई मूर्तरूप दिन यस्ता संवाद काठमाडौं र सिलिगुडीमा नियमित रूपमा आयोजना गर्नुपर्ने सुझाव दिए ।

सीआईआई नर्थ बंगाल जोनल काउन्सिलका उपाध्यक्ष अमल मण्डल, रुरल हेरिटेज कन्जर्भेसन टुरिज्मका सुप्रतिम (राज) बसु तथा किन्स हस्पिटलका संस्थापक सुमित सिन्हालले पर्यटन तथा मेडिकल शिक्षालगायत नेपाल र भारतले सहकार्यमार्फत प्राप्त गर्न सक्ने विविध अवसरबारे प्रकाश पारे ।

आईईसी गु्रप नेपालकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, आईआईएएस स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. केभी राजेन्द्रन नैयर तथा ग्लोकलका अध्यक्ष आशिष ठकुरले पश्चिम बंगाल र नेपालबीच शिक्षा क्षेत्रमा रहेका अवसर तथा सम्भावित सहकार्यका विषयमा आफ्ना धारणा राखे ।

मोरङ उद्योग संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार शाहले पूर्वी नेपाल र पश्चिम बंगालबीच व्यापार तथा पर्यटन प्रवर्द्धनका निम्ति आफ्नो अनुभव र दृष्टिकोण व्यक्त गरे ।

सीआईआई उत्तर बंगाल जोनल काउन्सिलअन्तर्गत रियल इस्टेट तथा लजिस्टिक प्यानलकी अध्यक्ष लक्ष्मी लिम्बु कौशलले आइडा र सीआईआई उत्तर बंगालबीचको यस्तो संयुक्त पहल केवल सुरुआत मात्र भएको बताइन् । उनले भनिन्, “यसले व्यावसायिक नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूले अनुभव आदानप्रदान गर्दै सँगै अघि बढ्न सक्नेछन् ।”

प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले व्यापार तथा आर्थिक सम्बन्ध प्रवर्द्धनमा आफ्नो दल र नेपाल सरकारको भूमिकाका साथै वर्तमान सरकारले अवलम्बन गरेका पहलबारे जानकारी गराए ।

कार्यक्रमका सहभागीले नेपाल–पश्चिम बंगाल आर्थिक करिडोरको बढ्दो महत्त्वलाई औँल्याए । नेपालको जलविद्युत्, पर्यटन, कृषि, उत्पादनमूलक उद्योग तथा विशेष आर्थिक क्षेत्रमा थप लगानी आवश्यक रहेको उनीहरूले बताए ।

आर्थिक कूटनीति प्रवर्द्धन गर्ने उद्देश्यले आइडाले प्रिस्टिना डाइलग, नेपाल–भारत थिंक ट्यांक समिट तथा हालै सिलिगुडीमा सम्पन्न ‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ कार्यक्रम आयोजना गर्दै आएको आइडाका संस्थापक सुनील केसीले जानकारी दिए ।

Logo