रास्वपा सांसद सृष्टी भट्टराईको कारको झ्यालबाट जीउ निकाल्ने अभिनय, ट्राफिक कारबाहीमा पर्न सक्ने

रास्वपा सांसद सृष्टी भट्टराईको कारको झ्यालबाट जीउ निकाल्ने अभिनय, ट्राफिक कारबाहीमा पर्न सक्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण समस्यामा परेकी छन् । उनले ट्राफिक कारबाहीको भागीदार बन्नुपर्ने हुन सक्छ ।

सृष्टीले कारको अगाडि झ्यालबाट जीउ बाहिर निकालेर भिडिओ बनाएकी थिइन् । गत फागुन २१ गते (प्रतिनिधिसभा निर्वाचनको दिन) उनले अपलोड गरेको भिडिओ अहिले भर्खर चर्चामा आएको हो । धेरैले नेपाल प्रहरीलाई मेन्सन गर्दै उनीमाथि ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही हुनुपर्ने बताइरहेका छन् ।

प्रहरी स्रोतका अनुसार सृष्टिलाई यातायात व्यवस्था ऐन बमोजिम कारबाही हुने भएको छ । केन्द्रीय प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका एक अधिकृतका अनुसार उनले गरेको कसुर यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अन्तर्गत कारबाहीको दायरामा पर्छ । उक्त दफामा लापरबाहीको कसुर आकर्षित हुने हो ।

सो व्यवस्थाअनुसार पहिलोपटक ५००, दोस्रोपटक १००० र तेस्रोपटक १५०० रूपैयाँ जरिवाना हुन्छ । सांसद भट्टराईले उक्त दृश्य कुन ठाउँमा कैद गरेकी हुन् भन्ने कुरा खुल्न सकेको छैन । पारिवारिक स्रोतका अनुसार उनी काठमाडौंबाट धनकुटा जाँदाखेरिको हो ।

सम्भावित स्थानको सीसीटीभी फुटेज रिकभर गरेर अनुसन्धान हुनसक्ने ट्राफिक व्यवस्थापन महाशाखाका ती अधिकृतले बताए ।‘घटनास्थल कहाँ हो भन्ने अनुसन्धान गरेर जहाँ यस्तो गतिविधि भएको हो, त्यहीँको ट्राफिक प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिन्छ’, उनले भने । त्यसरी हुने कारबाहीमा ऐनविपरीतको काम गर्ने सवारी चालक र यात्रुलाई समेत कारबाहीको व्यवस्था छ ।

Logo