काठमाडौं । नेपाली बजारमा चामल महँगिएको छ । उद्योगदेखि खुद्रा बजारसम्म चामलको मूल्य बढेको छ । दुई महिना अवधिमा मात्रै २५ किलो बोराको चामल ३ देखि ४ सय रुपैयाँसम्म बढेको व्यवसायीले बताएका छन् ।
उद्योगी तथा व्यवसायीका अनुसार भारतले चामल निर्यात नीतिमा गरेको परिवर्तन, मौसमी कारण उत्पादनमा आएको कमी र धानको न्यूनतम समर्थन मूल्य बढाएका कारण नेपाली बजारमा चामल महँगिएको हो । नेपाल पूर्णरूपमा आयातमुखी भएकाले अन्तर्राष्ट्रिय बजार, विशेषगरी भारतमा हुने मूल्यवृद्धिको प्रत्यक्ष असर यहाँ पर्ने गर्दछ । अहिले चामलको मूल्यमा पनि भारतीय नीतिको प्रभाव परेको नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवाल बताउँछन् ।
‘हाम्रो देशमा धान पर्याप्त नभएपछि हामी आयातमा निर्भर छौं,’ अग्रवालले भने, ‘अहिले भारतले बंगलादेशका लागि पनि चामल निर्यातको कोटा खोलेको छ, मौसमी कारणले यसपटक भारतमै धानको उत्पादन एकदमै घटेको छ, जसले गर्दा धान र चामलको मूल्य ह्वात्तै बढेको छ ।’
बजारमा अहिले सबैजसो चामल र धानको मूल्य बढेको छ । उद्योगी अग्रवालका अनुसार दुई महिनाअघि प्रतिक्विन्टल २ हजार ६ सय रुपैयाँ रहेको जिरा मसिनो धानको मूल्य अहिले भारतमै ३ हजार २ सय रुपैयाँ पुगेको छ । २५ केजी जिरा मसिनो चामल २ महिनाअघि १८ देखि १९ सय रुपैयाँ रहेकोमा अहिले बढेर २३ सयदेखि २४ रुपैयाँसम्म पुगेको छ।
यसैगरी, ३ हजार १ सयदेखि ३ हजार २ सय रुपैयाँ पर्ने सोना मन्सुली धानको मूल्य अहिले प्रतिक्विन्टल ३ हजार ६ सय देखि ३ हजार ७ सय रुपैयाँ पुगेको छ । यसको चामलको मूल्य पनि २५ केजी बोरामा १ हजार ३ सय ५० रुपैयाँबाट बढेर १ हजार ६ सय रुपैयाँ पुगेको अग्रवालले बताए ।
धेरै आयात हुने २० किलो लङ ग्रेन (बासमती) चामलको मूल्य अहिले ३ हजार ४ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्म पुगेको छ भने १ हजार १ सय २५ रुपैयाँ पर्ने १४४२ धानको चामलको मूल्य बढेर १ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।
अग्रवालले ठूला डिलरले मिलबाट सिधै किन्ने भएकाले मूल्यवृद्धि तत्काल लागु भए पनि खुद्रा व्यापारीसँग पुरानो स्टक हुने भएकाले उपभोक्तासम्म पुग्दा मूल्यवृद्धिको असर देखिन केही समय लाग्ने बताए ।
खुद्रा व्यापारीले पनि मिलबाटै बढेर आएको हुँदा उपभोक्ता मूल्य बढाउनुपरेको बताएका छन् । उनीहरूले मिल तथा होलसेलमै प्रतिबोरा ३ सय रुपैयाँसम्म बढेर आएकाले ढुवानी समेत जोड्दा चामल महँगो पर्न गएको बताएका छन् ।
नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघले पनि भारतले बंगलादेशतर्फको निर्यात खुला गर्दा माग बढेसँगै मूल्यवृद्धि भएको जनाएको छ । संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार भारतीय बजारमै धानको भाउ बढेका कारण त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो । ‘उता भारतले धानकै भाउ बढायो, त्यसकै कारणले यता बढेको हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘अहिले मौसमी मूल्य पनि अलिअलि बढेको हो ।’
नेपालमा स्वदेशी धानको उत्पादनले मात्र बजारको माग धान्न नसक्ने भएकाले भारतीय मूल्यमै भर पर्नुपर्ने अवस्था रहेको अध्यक्ष श्रेष्ठले बताए । बजारको चलन नै भारतीय दरभाउमा निर्भर रहेको उनको भनाइ छ ।
भारतको केन्द्रीय मन्त्रिपरिषद्ले आगामी वर्ष २०२६/२७ मा कृषि बाली धान लगायत १४ उत्पादनको न्यूनतम समर्थन मूल्य बढाउने निर्णय गरेसँगै धानको भाउ औपचारिक रूपमै बढेको हो । किसानलाई राहत दिने उद्देश्यले भारतले समर्थन मूल्य बढाएको हो ।
भारतीय सरकारको प्रेस सूचना ब्युरो र अन्य प्रमुख समाचार संस्थाहरूका अनुसार सरकारले सामान्य धानको खरिद मूल्य प्रतिक्विन्टल भारु ७२ ले बढाएर भारु २ हजार ४ सय ४१ पुर्याएको छ ।






























