काठमाडाैं । नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटिएस) प्रालिले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ । कम्पनीले अटोवेज पोखरा प्रालिलाई आधिकारिक डिलर नियुक्त गर्दै नारायणगढमा अत्याधुनिक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
नयाँ केन्द्रबाट ग्राहकहरूले टोयोटा गाडी खरिद, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मर्मत सेवा तथा जेन्युइन स्पेयर पार्ट्स एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यस सुविधाले चितवन, नवलपुर, मकवानपुर तथा आसपासका जिल्लाका ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउनेछ ।
उद्घाटन समारोहमा अटोवेज पोखरा प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेलले ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए । सन् २०११ मा भरतपुरबाट यात्रा सुरु गरेको अटोवेजले विगत १५ वर्षमा ग्राहकसँग बलियो सम्बन्ध निर्माण गर्न सफल भएको उल्लेख गर्दै उनले अत्याधुनिक थ्रीएस सुविधा ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव र प्रभावकारी बिक्रीपछिको सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको बताए ।
उद्योग, यातायात र कृषि क्षेत्रको तीब्र विकाससँगै चितवन नेपालको सबैभन्दा सम्भावनायुक्त अटोमोबाइल बजारमध्ये एक बनेको उल्लेख गर्दै उनले ग्राहकलाई विश्वस्तरीय सेवा उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको बताए ।
कार्यक्रममा वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज (भोइथ) का अध्यक्ष सुरज वैद्यले टोयोटाको सेवा विस्तार ग्राहकप्रतिको दीर्घकालीन प्रतिबद्धताको निरन्तरता भएको बताए । उनका अनुसार गुणस्तर, सुरक्षा, टिकाउपन र विश्वासका कारण टोयोटाले विश्वव्यापी पहिचान बनाएको बताए ।
‘चितवनमा अत्याधुनिक थ्रीएस सुविधा सञ्चालनमा आउनु यस क्षेत्रका ग्राहकका लागि महत्त्वपूर्ण उपलब्धि हो । अब चितवनका ग्राहकले राजधानी धाउनुपर्ने झन्झटबिना आफ्नै शहरमा अन्तर्राष्ट्रियस्तरको बिक्री तथा बिक्रीपछिको सेवा प्राप्त गर्न सक्नेछन्,’ वैद्यले भने ।
पछिल्ला वर्षहरूमा उद्योग, व्यापार, पर्यटन, यातायात तथा कृषि क्षेत्रमा तीब्र विस्तारसँगै चितवन प्रमुख आर्थिक केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । यस्तो अवस्थामा टोयोटाको आधुनिक थ्रीएस सुविधा सञ्चालनमा आउनुले स्थानीय ग्राहकलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउँदै यस क्षेत्रको अटोमोबाइल बजारलाई थप गतिशील बनाउने अपेक्षा कम्पनीले गरेको छ ।






























