काठमाडाैं । काठमाडाैं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् ।
राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुङ्गेधारा, कुवा र सार्वजनिक धारामा निर्भर छन् ।
मुहान क्षेत्रका बासिन्दाले नै खानेपानी नपाएको विषयमा स्थानीय तथा सङ्घीय जनप्रतिनिधिले वर्षौंदेखि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि समस्या समाधान भएको छैन ।
संसद्को खानेपानी तथा पूर्वाधारसँग सम्बन्धित समितिको गत साताको बैठकमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रमा खानेपानीको समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने चेतावनी दिएका थिए । शनिबार उनले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रतिनिधिसँग बैठक गरी स्थानीय समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिए ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट २७.५ किलोमिटर सुरुङमार्फत सुन्दरीजल आइपुग्ने मेलम्चीको पानी यहीँ प्रशोधन गरी राजधानीमा वितरण गरिन्छ । यसका साथै वाग्मती नदीको पानी पनि सुन्दरीजलबाट प्रशोधन गरी उपत्यकाका विभिन्न क्षेत्रमा वितरण हुँदै आएको छ तर पानीको स्रोतस्थल आसपासका बासिन्दा भने अझै नियमित खानेपानी सेवाबाट वञ्चित छन् ।
कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासकी सावित्री सापकोटाले १० लिटर खानेपानीका लागि गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारस्थित सार्वजनिक धारासम्म करिब आधा घण्टा पैदल जानुपर्ने र पानी भर्ने पालोको प्रतीक्षामा दुई घण्टासम्म समय खर्चिनुपर्ने बाध्यता सुनाइन् । “धारामा सधैँ लामो लाम हुन्छ, घण्टौँको प्रतीक्षा पछिमात्र पालो आउँछ,” उनी दुखेसो पोख्छिन् ।
सोही वडाका केशवप्रसाद पुडासैनीले नगरपालिकाले विभिन्न खानेपानी आयोजना सम्पन्न गरेको दाबी गरे पनि दिगो व्यवस्थापन नहुँदा संविधानले प्रत्याभूत गरेको स्वच्छ खानेपानीको अधिकारबाट स्थानीयवासी वञ्चित हुनुपरेको गुनासो गरे ।
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आफ्नै बजेटबाट आवश्यक पाइप बिछ्याएर केयुकेएललाई हस्तान्तरण गरे पनि अपेक्षित रूपमा खानेपानी वितरण हुन नसकेको स्वीकार गरे ।
स्थानीयवासी प्रेम श्रेष्ठका अनुसार सुन्दरीजलस्थित पुरानो वाग्मती पानी प्रशोधन केन्द्र लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय क्षेत्रमा शुद्ध पानी वितरण प्रभावित भएको छ । उनले केन्द्रको शीघ्र मर्मत गरी स्थानीय बासिन्दालाई नियमित र स्वच्छ खानेपानी उपलब्ध गराउन माग गरे ।
केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहले सुन्दरीजल क्षेत्रमा समस्या पुरानो वितरण प्रणालीका कारण भएको बताए । पञ्चायतकालमा निर्माण गरिएको पाइपलाइन अहिलेको जनघनत्व धान्न नसक्ने अवस्थामा पुगेकाले नयाँ वितरण प्रणाली निर्माण गर्ने विषयमा सांसद पाण्डेसँग सहमति भएको उनले जानकारी दिए ।
यसैबीच, सुन्दरीजलको वाग्मतीतर्फको पुरानो पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बौद्ध क्षेत्रसम्म वितरण हुने पानी धमिलो हुने गरेको अत्तरखेलका स्थानीयवासी नोर्साङ शेर्पाले गुनासो गरे । उनका अनुसार यस्तो पानी प्रयोग गर्दा कपडा राम्रोसँग सफा नहुने र नुहाएपछि शरीर चिलाउने समस्या हुने गरेको छ। नागरिक समाजले एक दशकदेखि यो विषय उठाउँदै आए पनि सम्बन्धित निकायबाट प्रभावकारी सुनुवाइ नभएको उनले बताए ।






























