भत्ता बुझ्न बिहानैदेखि बैङ्कको ढोका कुर्दै ज्येष्ठ नागरिकहरु

भत्ता बुझ्न बिहानैदेखि बैङ्कको ढोका कुर्दै ज्येष्ठ नागरिकहरु

केन्द्रबिन्दु
0
Shares

कावासोती।

छयासी वर्षीया टिकामाया चन्द ठकुरी हातमा लौरो समाती बैंकको सिँढीमा बसेकी छिन् । बिहान चार बजेदेखि उनी सिँढीमा बसेकी हुन् । उनी बसेको घरको दोश्रो तलामा मेगा बैङ्कको कार्यालय छ । बिहानीको समयमा चिसोको आभास हुन थालेको छ । तर उनलाई कुनै प्रवाह छैन । सिमेन्टको भूईमा बसेर उनी बैंक खुल्ने प्रतिक्षामा रहेकी छिन् । सामाजिक सुरक्षा भत्ता बुझ्न उनी बिहानै चार बजे बैङ्क परिसरमा आएकी हुन् । कावासोती नगरपालिका–१ कोइलापानीदेखि झण्डै ७ किलोमिटर पैदल हिडेर आएकी उनलाई बैङ्क चाँडै खुलेर भत्ता बुझ्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

उनीजस्तै ६२ वर्षीया फुलकुमारी सुनारसमेत बिहान चार बजेदेखि बैङ्क खुल्ने प्रतिक्षामा छिन् । “दश बजे आए पालो आउँदैन, पैसा पनि पाइँदैन, त्यसैले बिहानै आएकी हुँ” उनले भनिन् । उनीसँगै अन्य ज्येष्ठ नागरिक समेत बिहानै चार बजेदेखि बैङ्क खुल्ने प्रतिक्षामा छन् । कोभिड–१९ को जोखिम हुन सक्ने भन्दै बैङ्कले दैनिक ३० जनालाई मात्र कुपन प्रदान गर्दै आएको छ ।

एक दिनमा ३० जनाको मात्रै पालो आउने भएपछि यहाँका ज्येष्ठ नागरिकहरु बिहानैदेखि कुपनका लागि बैङ्कको ढोकामा लाइन बस्ने गरेका छन् । बिहान ६ बजे तीस वटा कुपन बितरण गरिसकेको बैङ्कका सूरक्षाकर्मीले बताए । अब आउनेले कुपन नपाउने उनको भनाइ छ । तर कुपन नपाएपनि भत्ताको पैसा निकाल्न पाइन्छ कि भनेर केही ज्येष्ठ नागरिक लाइनमै बसेका देखिन्छन् ।

कावासोती नगरपालिका–१ का वडाध्यक्ष नारायण पन्तले बैङ्कले जिम्मेवारीपूर्वक कार्य नगर्दा समस्या भएको बताए । “बैङ्कले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनु पर्ने थियो, तर कुनै प्रतिक्रिया दिदैनन्”, उनले भने । कावासोती–१ मा करिब ६ जनाले सामाजिक सुरक्षा भत्ता पाउने सूचिमा छन् । बैङ्कले उपयुक्त व्यवस्थापन नगरिदिँदा भीडमा ज्येष्ठ नागरिक थप सङ्क्रमण जोखिममा रहेको उनको भनाइ छ । सामाजिक सूरक्षा भत्ता बितरणको व्यवस्था बैङ्कबाट भएकाले कोरोना सङ्क्रमण जोखिमको यो समयमा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने वडाध्यक्ष पन्तले बताए।

कावासोती नगरपालिका–२ का वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले नगरपालिकाले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दशैं अघि नै बैङ्कमा पठाइसकेको बताए। अशक्त र ज्येष्ठ नागरिकको संरक्षक कायम गरी सिफारिसका आधारमा लिन सक्ने बनाउँदा समस्या नआउने उनको भनाइ छ । बैङ्कहरुले सामाजिक सुरक्षा भत्ता सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने सुझाव उनको छ ।रासस

 

Skip This
Skip This
Logo