किन टल्कन छाड्यो माछापुच्छ्रे ?

किन टल्कन छाड्यो माछापुच्छ्रे ?

केन्द्रबिन्दु
0
Shares

कास्की ।

त्यसै त लोभलाग्दो पोखरा, त्यसमा पनि खुलेको मौसम । माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खलाले सबैलाई मोहित बनाउँछ । कोरोना जोखिमका कारण पोखराको यो सौन्दर्य हेर्न धेरै देशीविदेशी पर्यटक वञ्चित भएका छन् तर यतिबेला हिमालको चमकमा पनि कमी आएको महशुस गरिएको छ ।

आजभोलि पोखरेलीका सामाजिक सञ्जाल फेसबुक पेज माछापुच्छ्रे हिमालका तस्बिरले रङ्गिएका देखिन्छन् । तस्बिरसँगै धेरैले हिउँ नभएको हिमाल भन्दै चिन्ता व्यक्त गरेका छन् । यतिबेला माछापुच्छ्रे हिमाल हिमाल जस्तो देखिएको छैन । हिउँ नभएर कालापत्थर जस्तो देखिँदा हिमालप्रेमीलाई चिन्तित बनाउनु स्वाभाविक हो ।

बिहान उठ्ने बित्तिकै मुस्कुराइरहेको माछापुच्छ्रे देखिँदा दिनभर नै ऊर्जा मिल्ने अनुभवसहित जीवनका सात दशक बिताइसकेका पोखराका अग्रज साहित्यकार एवं फोटो पत्रकार विश्व शाक्य अहिले जस्तो माछापुच्छ्रेको उराठलाग्दो रुप कहिल्यै नदेखेको बताउँछन्। “मैले यो उमेरसम्म यस्तो अवस्थाको माछापुच्छ्रे देखेको थिइनँ । हिउँदको समयमा माछापुच्छ्रेमा छपक्क हिउँ त हुँदैन तर अहिले यस्तो कालो त यसअघि कहिल्यै देखिएको थिएन, घरको छतबाट हेर्दा कालापत्थरको चुच्चो जस्तो देख्छु ।”

शाक्यका अनुसार ४० को दशकबाट पोखराको न्यूरोडमा घरहरु बन्न शुरु गरेका हुन् । त्यसअघि जङ्गल र कोदो बारी थियो । अहिले विकासको नाममा सबै विनास भएको छ । खरका छाना फालेर टिन राख्न थालियो । टिन फालेर सिमेन्टका घर बन्न थाले । तापक्रम बढ्दै गयो । त्यसको प्रत्यक्ष असर हिमालमा पनि देखिँदै गएको उनको ठम्याइ छ ।

भूगोलका विद्यार्थी शाक्यले भने, “यस अघि हिउँदमा पनि हिमालमा चिस्यान हुन्थ्यो र हिउँ नै नभए पनि माछापुच्छ्रेको स्वरुप यति बिरुप अहिलेसम्म देखिएको थिएन ।”

भूगोलका अनुसन्धानकर्ता भानु पराजुली माछापुच्छे« हिमालको दक्षिणतिरको भू–भाग भिरालो भएकाले हिउँ परे पनि अडिने ठाउँ नभएको बताउँछन् , यद्यपी विगत वर्षमा भन्दा यो वर्ष हिउँ कम भएको उनी स्वीकार्छन् । “भिरालो भएकाले लपक्कै हिउँ कहिल्यै पनि देखिएन, तर अहिले अलि बढी नै कालो देखिएको सत्य हो ।”

अहिले उद्योग कलकारखाना बन्द छन् । वातावरणमा प्रत्यक्ष असर पार्ने ग्याँस उत्पादन भएको छैन, प्रदूषण कम छ, मौसम पनि राम्रो छ । यो वर्ष निरन्तर पानी परेका कारणले हिमालमा हिउँ जम्न पाएन, जसका कारण हिमाल हिउँबिहीन देखिएको उनको बुझाइ छ ।

संस्कृतीकर्मी तीर्थ श्रेष्ठले माछापुच्छ्रे तुलनात्मक रुपमा पहिलैदेखि नै कम हिउँ पर्ने हिमाल भएको बताउँछन् । “माछापुच्छ्रेको उचाइ ६,९९३ मात्र छ, यसको स्वरुप पनि अलि भिरालो छ, यो समयमा माछापुच्छ्रे केही छिर्केमिर्के देखिन्थ्यो, अहिले पानी नपरेकाले अलि बढी कालो देखिएको हो ।” उनले भने, “पोखराको गहनाको रुपमा रहेको माछापुच्छ्रे पानी परेपछि फेरी खुलेर मुस्कुराउने छ र हामी रमाउँने छौं ।”

पोखराका पत्रकार कृष्णमणि बराल पनि अहिले सामाजिक सञ्जालमा माछापुच्छ्रेमा हिउँ छैन भनेर प्रचार गरिए पनि यसअघिका वर्षमा पनि यो समयमा माछापुच्छ्रेमा बाक्लो हिउँ नहुने बताउँछन् । “मैले लामो समय माछापुच्छ्रेको फोटो खिच्दै आएको छु, अहिले पानी नपरेका कारणले हिमाल हिमाल जस्तो देखिएको छैन, यसको अन्य पाटोको बारेमा विज्ञबाट अनुसन्धान होला तर मैले देखेको हिमाल यो समयमा सधैं उस्तै हो ।”

Skip This
Skip This
Logo