निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग माग्यो ७ अर्ब

निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग माग्यो ७ अर्ब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैंयाँ निकासाका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको छ ।

आयोगले निर्वाचन प्रयोजनमा हुने विभिन्न खर्च शीर्षक विश्लेषण गरी बजेट अनुमान निकालेर बुधबार अर्थलाई पत्र पठाएको हो ।

०७४ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आयोगले गरेको खर्चको तुलनामा अहिले माग गरिएको रकम ८४ करोडले कम छ । अघिल्लो निर्वाचनमा आयोगबाट ७ अर्ब ९१ करोड रुपैंयाँ खर्च भएको थियो ।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचन खर्चलाई सक्दो मितव्ययी बनाउने बजेट अनुमान तयार गरिएको बताए । उनले अघिल्लो निर्वाचनमा प्रयोग भएका मतपेटिका, सवारीसाधन र अन्य उपकरणमध्ये मर्मत गर्न सकिनेलाई प्रयोगमा ल्याउने नीति लिइएको उल्लेख गरे ।

कोभिड–१९ को सुरक्षा सतर्कताका लागि केही रकम खर्चिनु पर्ने भएको आयोगले जनाएको छ । कोभिडको सुरक्षा सतर्कताका लागि निर्वाचनमा ३७ करोड ४१ लाख ७४ हजार रुपैंयाँ खर्च हुने अनुमान गरिएको छ ।

निर्वाचन प्रयोजनका लागि ७७ वटै जिल्लामा निर्वाचन कार्यालय र प्रत्येक निर्वाचन क्षेत्रमा १ सय ६५ वटा निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा समेत न्यूनतम कर्मचारी खटाइने भनिएको छ । तालिमलाई अनलाइनबाट समेत सञ्चालन गरेर खर्च घटाउने उपाय निकालिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।कान्तिपुरबाट

Logo