कृषिमा विदेशी लगानी : ‘नेपालको पुरै कृषि क्षेत्र विदेशीलाई हस्तान्तरण गरे जस्तै’

कृषिमा विदेशी लगानी : ‘नेपालको पुरै कृषि क्षेत्र विदेशीलाई हस्तान्तरण गरे जस्तै’

केन्द्रबिन्दु
0
Shares

कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदा साना किसानहरुलाई मर्का नपर्ने गरि भित्र्याउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।  संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारको बैठकमा सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्र्याउँदा देश भित्रका साना किसानहरुलाई मर्का पर्ने भएकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरनिको राजभण्डारीले कृषिमा विदेशी लगानी भित्र्याउँदा सरोकारवालासँग गहन छलफल गर्नुपर्ने बताए। सरोकारवालाको छलफल बिना एकाएक विदेशी लगानी भित्र्याउँदा नेपालको पुरै कृषि क्षेत्र विदेशीलाई हस्तान्तरण गरे जस्तै हुने उनको भनाइ छ । सरकारले ऐन बनाउँदा विशेष ध्यान पुर्याउनु पर्ने उनले बताए ।

यस्तै डेरी उद्योग संघका उपाध्यक्ष निराजन श्रेष्ठले कृषिमा विदेशी लगानी भित्र्याउनु अघि नेपालका कृषकहरुको रोजगारीको व्यवस्थामा ध्यान दिनुपर्ने बताए । जनशक्ति, जमिन र खाद्य सुरक्षामा पनि ध्यान पुर्याउनु पर्ने उनको भनाइ छ ।

डेरी उद्योग संघका महासचिव प्रल्हाद दाहाल राज्यले पहिले नेपालका किसानलाई प्रतिस्पर्धी हुन सक्ने बनाउनु पर्ने बताउँछन् । त्यसपछि मात्रै विदेशी लगानी भित्र्याउनु पर्ने उनको धारणा छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल कृषिमा विदेशी लगानी साना तथा मझौला उद्योगमा नभई ठूला उद्योगमा भित्र्याउन लागिएको बताउँछन् । ५० करोड भन्दा बढी लगानी गर्ने तथा आफैंले उत्पादन गरेर ७५ प्रतिशत बढी निकासी गर्नेलाई मात्रै भित्र्याइने उनले बताए । विदेशी लगानीले साना उद्योगी, व्यवसायीलाई अप्ठ्यारो नपर्ने मान्यता राखिएको उनले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलले कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा नीति तथा कानुन बनाउँदा सम्बन्धित क्षेत्रको धारणा लिने गरेको बताउँछन् । किसान र नीजि क्षेत्रलाई असर नपार्ने गरी कृषिमा विदेशी लगानी भित्रिने तथा यसले किसानलाई प्रतिस्पर्धी बनाउने पनि उनको भनाइ छ । अब बन्ने कार्यविधि सबै पक्षको साथ लिएर बनाइने उनले बताए ।

Skip This
Skip This
Logo