६.१ प्रतिशतले बढ्यो निर्यात

६.१ प्रतिशतले बढ्यो निर्यात

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक २०७७/७८ को ६ महिना अर्थात पुस मसान्तसम्ममा वस्तु आयात ४.८ प्रतिशतले गिरावट आएको छ । निर्यातमा भने ६.१ प्रतिशतले वृद्धि भएर ६० अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ६ महिनाको आर्थिक तथा वित्तीय तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८.४ प्रतिशत र ४ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फको निर्यातमा भने ५० प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, पश्मिना, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ । त्यस्तै पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर ६६१ अर्ब २५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ प्रतिशत र १७.४ प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ५.८ प्रतिशतले घटेर  ६ सय अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।

 

Skip This
Skip This
Logo