राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले मध्यपहाडी लोकमार्गले समेटेको क्षेत्रमा अन्य पूर्वाधार विकास गर्न, घोषित नयाँ शहरहरुमा थप पूर्वाधार तयार पार्न, व्यावसायिक कृषि तथा फलफूल उत्पादन गर्ने क्षेत्रको पहिचान गर्न, उद्योगधन्दा स्थापना गर्ने क्षेत्रको पहिचान गर्न मद्दत मिलेको बताएका छन् ।
मध्यपहाडी लोकमार्गको पूर्वी खण्डको स्थलगत निरीक्षणका क्रममा उनले भने, “यो सडक पहाडको ‘लाइफ लाइन’का रुपमा रहेकाले यसको शीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक नीति निर्माण र सुझाव दिन निरीक्षण फलदायी रह्यो । राष्ट्रिय योजना आयोगले आगामी योजनाहरु निर्माण गर्दा निरीक्षणमा प्राप्त विषयहरुलाई समेत समेट्ने छौँ ।” उपाध्यक्ष प्रा डा कँडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वाधार विकास विज्ञ गजेन्द्र थपलियाको टोलीले काभ्रेदेखि मध्यपहाडी लोकमार्गको उद्गम विन्दु पाँचथरको चिवाभञ्ज्याङसम्मको निर्णाणाधीन सडकको अवलोकन गरेको हो ।
सरकारले मध्यपहाडी लोकमार्ग आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य प्राप्तिका लागि निर्माण अवस्थामा गर्नुपर्ने सुधार, कालोपत्र हुन बाँकी खण्डमा आवश्यक परिवर्तन, मध्यपहाडी लोकमार्गलाई अन्य मुख्य सडकहरुसँग जोड्ने सहायक सडक निर्माण, लोकमार्गले जनजीवनमा ल्याउने परिवर्तनलगायत विषयमा टोलीले निरीक्षण गरेको हो ।
टोली शुक्रबार लोकमार्गको उद्गम विन्दु पाँचथरको याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ पुगेको थियो । शनिबार निर्माणाधीन तमोर कोरिडोर तथा मदन भण्डारी मार्ग हुँदै टोली फर्किएको आयोगका सञ्चारविज्ञ रामेश्वर कार्कीले जानकारी दिए । लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङ पुगेको टोलीले सो स्थानलाई व्यापारिक मार्गका रुपमा विकास गर्ने सम्भाव्यताका सम्बन्धमा स्थानीयवासीसँग अन्तरक्रिया गरेको थियो । पछिल्लो समय आयोगले रुग्ण आयोजनालाई पूर्णता दिन तथा विशेष महत्वका आयोजनाहरु समयमै पूरा गर्न सरकारलाई सुझाव तथा मार्गदर्शन दिँदै आएको छ ।





























प्रतिक्रिया