सोखले खोलिएको पहिलो बाइक संग्रहालय ‘एसजे मोटो’

सोखले खोलिएको पहिलो बाइक संग्रहालय ‘एसजे मोटो’

केन्द्रबिन्दु
0
Shares

नेपाली अटो व्यवसायका चीरपरिचित व्यवसायी सौरभ ज्योति बाईकका शौखिन हुन् भन्ने कुराबाट हरकोही जानकार छन् । नयाँदेखि पुराना एन्टिक पिसहरु आफूसँग राख्न चाहने सौरभले आफ्नो बाइकको सोखलाई सोखमा मात्रै सिमित नगरि उनले एउटा बाइक संग्रहालय (म्युजियम) नै स्थापना गरेका छन् ।

सौरभ ज्योतिले काठमाडौंको कान्तिपथस्थित ज्योति भवनमा देशकै पहिलो मोटरसाइकल संग्रहालय ‘एसजे मोटो’शुक्रबारदेखि संचालनमा ल्याएका छन् । यसअघिसम्म ‘पर्सनल ग्यालरी’को रुपमा रहेको उक्त संग्राहलय सर्वसाधरणका लागि खुल्ला गरिएको छ ।  एसजे मोटोमा सन् १९६५ देखि यताका ऐतिहासिक मोटरसाइकलहरु ग्यालरीमा राखिएका छन् । जुन, २५ वर्षदेखि कलेक्सन गरिएको हो ।  ग्यालरीमा होण्डा, एमभी अगस्टा, यामाहा डुकाटी, हार्ले डेभिडसन, सुजुकी, बजाज लगायत थुप्रै चर्चित ब्राण्डहरू प्रदर्शनका लागि राखिएको छ । ‘एसजे मोटो’ नाम दिइएको यस संग्रहालयसँगै एक क्याफेको पनि उद्धघाटन गरिएको छ । जहाँ कफिको चुस्किसँगै ग्यालरीको अवलोकन गर्न सहज हुनेछ ।  

एसजे मोटो ग्यालरी तथा क्याफे उद्घाटन कार्यक्रममा उत्साहित हुँदै ज्योतिले आफ्नो वर्षौँ अघि देखेका दुई वटा सपना एकै दिन पूरा भएकोप्रति खुसी व्यक्त गरे । ती थिए, उडिउडि भाषण गर्ने, अर्को मोटरसाइकल ग्यालरी ‘एसजे मोटो’ खोल्ने । उनले खुसीका साथ सुनाए, ‘सपना देखेपछि एक न एक दिन साकार हुने रहेछ ।’  

एसजे मोटो देश तथा विदेशीका मोटरसाइकलका पारखीहरूलाई आफ्नो चाहना पूरा गर्न तथा नयाँ–पूराना मोडलहरूको विषयमा अध्ययन गर्नका लागि पनि राम्रो संस्थापक ज्योतिको भनाई छ ।  

सौरभले म्युजियमलाई हिस्ट्रि एरिया, सेलिङ एरिया र क्याफे एरिया गरि ३ भागमा विभाजन गरेका छन् । हिस्ट्रि एरिया, जहाँ रहेका बाईकहरुको इतिहासको वर्णन गरिएको छ । त्यस्तै सेलिङ एरियामा उनले विक्रि गर्न चाहेका बाईकहरु राखिएका छन् भने क्याफे एरियामा बसेर नेपाली उत्पादन तथा मौलिक नेवारी खाजा लाखमरी र कफीको स्वाद लिँदै ग्यालरी अवलोकन गर्न सकिनेछ ।  

सौरभ ज्योति बाइकका पारखी मात्रै होइनन् । उनी नेपालमा होण्डा बाइकको एक मात्र आधिकारिक विक्रेता स्याकार ट्रेडिङका सञ्चालक पनि हुन् । ज्योतिका अनुसार एसजे मोटो बाइक ग्यालरी एउटा होण्डा बाइकको मात्रै नभएर मल्टिब्रान्ड ग्यालरी हो । ‘एसजे मोटो ग्यालरीमा हामीले मोटरसाइकलका ब्राण्ड भन्दा पनि कल्चर प्रमोट गछौं ।’ ज्योतिले भने ।  

ग्यालरी अवलोकनका लागि स्वदेशी तथा विदेशी मोटरसाइकल पारखीहरू आउने अपेक्षा संस्थापकको छ । अर्कातर्फ ‘सेफ राइडिङ कल्चर’ बढाउनु पनि ‘एसजे मोटो ग्यालरी’ को मूख्य उद्देश्य  रहेको छ ।  

ग्यालरीमा नेपालमा सन् १९६५ यता नेपालमा भित्रिएका बाइकका साथै विश्व बजारमा सर्वाधिक चर्चामा आएका सुपर बाइकको अवलोकन गर्न सकिन्छ । विशेष गरेर बुबा पद्म ज्योतिले चलाएको ड्यास ७० नै सुरुमा सौरभ ज्योतिले पहिलो पटक चलाएको बाइक थियो । त्यही दिन सम्झदै ज्योति केही नोस्टाल्जिक हुन्छन् :

‘बुबाले चलाएको बाइक सानो हुँदा मन परेर हेरिरहन्थें तर म विदेशमा पढ्न जाँदा बुबाले अक्सिन प्लान्टका म्यानेजरलाई बिक्री दिएका रहेछन् । तर पढाइ सकेर स्वदेश फर्किएपछि आफ्ना बुबाको त्यही बाइक खोजेर आफैँले किनेर चढेँ । ग्यालरीमा यो बाइक अहिलेसम्म पनि राम्रो कन्डिसनमा छ, यो नै ग्यालरीको आकर्षण हुन सक्छ ।’  

ज्योतिले ग्यालरीका लागि नयाँ तथा पूराना बाइकका संकलन गरेको थाहा पाउने साथीभाइहरु घरमा नै आएर अवलोकन गर्न चाहेको र सबैलाई घरमा ल्याउन सम्भव नभएकाले पनि बाइकका पारखीहरुको लागि एसजे मोटोको अवधरणा अगाडि बढाएको बताए् । हप्ताका सातै दिन जो कोहीले बाइक किन्न तथा विभिन्न ब्राण्ड र मोडल अवलोकन गर्न ग्यालरी निःशुल्क रुपमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुल्ला हुनेछ ।

नेपालमा पहिलो पटक सन् १९६० मा बाईक भित्रिएको थियो । तर, ग्यालरीमा १९६९ सालदेखिका बाइक संकलन गरिएको छ । जसमा ड्यास ७०, १९७७ को बेनेली एस ११०, १९७८ को सिटी ९० स्ट्रिट, सिबिआर १००० आरआर, होन्डाको १००० सिबिआर रेसिङ बाइक रहेका छन् । यस्तै, धेरै पूरानो पिसी ५० मोटरसाइकल पनि मर्मत गरेर ग्यालरीमा राखिएको छ । ज्योतिले यस्ता थुप्रै पुराना बाइकहरू किनेर रि–स्टोर गरेर बर्सेनि सरकारलाई लाखौँ राजस्व समेत बुझाउँदै आएका छन् ।  

कुल ३६ वटा बाईकहरु रहेको म्युजियममा विक्रिका लागि ७ वटा मात्र बाईकहरु राखिएका छन् । जुन सबै एमभि अगस्टाका रहेका छन् । जसको मूल्य ४३ लाख ९० हजारदेखि सुरु भएर ६१ लाख ९० हजारसम्म रहेको छ । म्युजियममा विक्रिका लागि बाइक मात्र नभएर राईडरका लागि हेल्मेट, ज्याकेट, पन्जा, जुत्ता, घडी लगायतका एक्सेसरिज पनि राखिएका छन् ।

Logo