रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरब एमिरेट्स (यूएइ) स्थित कम्पनी अल अहलिया एक्सचेन्ज र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ ।
समझदारीपछि आइएमईमार्फत रेमिट्यान्स गर्ने ग्राहकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्ने भएका छन् । यो सम्झौतापछि अल अहलिया एक्स्चेन्ज यूएइबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुने बताइएको छ ।
यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्वपूर्ण फड्को हो । यसबाट यूएइमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ । यस अवसरले सेवाग्राहीहरूलाई अल अहलिया एक्सचेन्ज यूएइबाट पठाएको रेमिट्यान्स नेपाल स्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ ।
रोजगारीका वा व्यापार व्यवसायका लागि यूएइ भरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले अल अहलिया एक्सचेन्जबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने गरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको अल अहलिया एक्स्चेन्ज का निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए । आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने निमित्त महाप्रबन्धक सुब्बाले बताए । आइएमई पे ब्राण्डको प्रवद्र्घित संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्वपूर्ण रहेको बताए । यूएइ नेपाल भित्रिने रेमिट्यान्सको मुख्य श्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा यूएइको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे ।
वार्षिक आठ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । अल अहलिया एक्स्चेन्जका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ । सेवा शुभारम्भका अवसरमा आइएमई डिजिटलले अल अहलिया एक्सचेन्ज यूएइ मार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकारोबार रू. ६० सम्म बोनस पाउन सक्ने बताइएको छ ।





























प्रतिक्रिया