प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको बताएका छन् । वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरुको साथ लिएर बनाउने उनले बताए ।
मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा जनता तथा उपभोक्ताको साथ लिएर बनाउने बताएका हुन् । वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका निम्ति पनि जनताको साथ लिने उनको भनाइ छ ।
प्रधामन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरुले वनको संरक्षण गर्न भूमिका खेलेको बताए । उपभोक्ता समितिहरुले नष्ट भइसकेका वनहरुलाई पुनर्जीवन दिएको उनको भनाइ छ । फलस्वरुप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको पनि प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीले सबै प्रकारका वनहरुको सुरक्षा, समुचित प्रवन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि उल्लेख गरे । वनको अधिकतम सुरक्षा र विकास गरि जनता र राष्ट्रले अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया