नाडाको ४४ औं साधारणसभाः निर्णय गर्नुपूर्व सरोकारवालासँग छलफल गर्नुपर्ने सुझाव

नाडाको ४४ औं साधारणसभाः निर्णय गर्नुपूर्व सरोकारवालासँग छलफल गर्नुपर्ने सुझाव

केन्द्रबिन्दु
0
Shares

सवारीसाधनको छाता संगठन नाडा अटो मोबाईल्स एशोसिएशन अफ नेपालको ४४ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भयाे । राजधानीमा एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यमा नाडाको वार्षिक साे सभा समापन भएकाे थियाे । 

सो अवसरमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले राज्यलाई सबैभन्दा बढी राजस्व तिर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्र अटो मोबाईल्स भएको स्मरण गराएका थिए । सरकारको दोहोरो तेहरो कर प्रणालीले साना तथा मझौला व्यवसायी समस्यामा परेको भन्दै कर प्रणाली सुधार र एकिकृत कर प्रणालीसम्बन्धि कुनै पनि निर्णय गर्नुभन्दा पहिले सरोकारवालासँग पर्याप्त छलफल गर्न अध्यक्ष दुलालले सुझाएका थिए । 

त्यस्तै विधुतीय साधनलाई अधिकतम प्रयोगमा ल्याउन छिमेकी मुलुकले व्यवसायीहरुलाई भारी छुट दिइरहेको अवस्थामा नेपालमा पनि सोही नीतिको अनुशरण गर्नुपर्नेमा दुलालले जोड दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको अटो मोबाईल्स क्षेत्रलाई हेर्ने धारणा संकुचित भएको बताए । अटो मोबाईल क्षेत्र चलायमान रहेमा मात्र देशको समृद्धि सम्भव हुने भन्दै उनले अर्थविद्हरुले अटो मोबाईल्स क्षेत्रलाई हेर्ने धारणामा परिवर्तन ल्याउनुपर्ने बताए । 

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले सरकारले अटो मोबाईल्स क्षेत्रलाई अर्थतन्त्र निर्माणको मेरुदण्डको रुपमा राखेकाले अब अटो व्यवसायीहरूले सवारी साधानको खरिद बिक्रीमात्रै नगरेर उत्पादन गर्नेतर्फ लाग्नुपर्ने बताए । त्यस्तै सरकारले पेट्रोलियमको परनिर्भरतालाई विस्थापन गर्न विद्युतीय सवारी साधानलाई प्राथमिकतामा राखेर बजेट ल्याउने समेत उनले जानकारी दिए । 

उनले अब राजनीतिक एजेण्डा सबै मिलिसकेको र सरकार समृद्धिको लागि आर्थिक एजेण्डा बोकेर अघि बढेको बताए । ट्राफिक जामको समस्यालाई कम गर्न काठमाडौँको ७÷८ स्थानमा फाइओभर बन्ने र यही आर्थिक वर्षमा तीनवटा फाइओभर बनाउन सुरु हुने समेत उनले प्रष्ट पारे । 

सो अवसरमा प्रहरी निरिक्षक दामोदर सिलवाल, प्रहरी नायव निरिक्षक जीवराम खतिवडा, प्रहरी सहायक निरिक्षक शान्तिकला थापा र प्रहरी जवान तेजबहादुर खड्कालाई सम्मान गरिएको थियो भने नयाँ संस्करणको ट्रेड डाइरेक्टिभ पुस्तक पनि विमोचन गरिएको थियो ।

Logo