सिरहाको करजन्हामा एक सामान्य परिवारमा जन्मिएका सेफ सन्तोष शाहलाई थाहा थिएन कमजोर मान्छेले यति ठूलो सफलता हात पार्छ भनेर। एक भान्सेले सफलताको यो शिखर चुम्छ भन्ने के थाहा उनी तिनै नेपाली भान्से हुन् , जसले बेलायतको चर्चित प्रसारण संस्थाद्वारा प्रवर्धित ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ का उपविजेता बने । विश्वभर सेफ आज शाहको चर्चा चुलिएको छ । प्रतियोगितामा पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै शाह चर्चित बने । उनले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई उँचो बनाउन भूमिका खेलेका छन् ।
संसारभरका १०१ प्रतिस्पर्धीले भाग लिएको प्रतियोगिताको ‘ग्राण्ड फिनाले’सम्म पुग्ने अन्तिम तीनमा शाह पनि थिए। ग्राण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका शाह दोस्रो बने। उनले अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रशंसा बटुलेका थिए । चार महिना चार दिन अवधिको सोमा शाहले शुरुदेखि अन्तिमसम्म निर्णायकको मन जित्न सफल भए । प्रतियोगिता अवधिभरका सबै खानाका परिकार आकर्षक भएकाले सफलता मिलेको शाहको भनाइ छ ।
विश्वचर्चित सञ्चारमाध्यमले शाहलाई ‘सेलीब्रेटी’ बनाए । विश्व बजारमा नेपाली खानाको प्रवर्धन गर्ने योजना बनाएका शाहले खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउन लागि पर्ने बताए । उनले बेलायतमा छिट्टै रेष्टुरेण्ट सञ्चालन गर्ने र नेपालमा पनि खोल्ने योजना बनाएका छन् । शाह भन्छन् , “जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नु पर्छ । जब म प्लाष्टिकको झोला र पाउरोटी बेच्थेँ, त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु।”
उनले ‘फुड इन हाइजिन’ लाई ध्यान दिएर विदेशी पर्यटकका लागि गुणस्तरीय सेवा प्रदान गर्न सके नेपालको लागि फाइदा पुग्ने बताए। देशभित्र भान्से र खानाले महत्व नपाएका अवस्थामा यस क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ सङ्घर्षको यात्रा शुरु गरिएको शाहले बताए। उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र पहिचानका लागि केही गरौँ भनेर दिलैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताए।
शाहको सङ्घर्ष
करजन्हाको सामान्य किसान परिवारका पाँच दाजुभाइ र दुई दिदीबहिनी गरि सातमध्ये सबैभन्दा कान्छा उनका करजन्हादेखि लण्डनसम्मको सङ्घर्ष र सफलताको जीवन यात्रामा अनेकन आयाम छन् । शाहकै भाषामा, “म जस्तो भान्सेले यत्तिको सफलता पाउँछ भन्ने सोचेकै थिइन तर अदम्य साहस र निरन्तरताको लगावले मलाई सफलतातिर डोहोर्यायो ।” उनका केही दाजुभाइ मध्ये भारत र अन्य देशमा व्यापार व्यवसायमा संलग्न छन् ।
पाँच वर्षको उमेरमै बुबाको साथ गुमाएका शाहले १० वर्षको उमेरदेखि काम गर्न थालेका थिए । सिरहा बजारमा प्लाष्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको पनि उनीसँग अनुभव छ । नेपालमा कक्षा १० सम्म अध्ययन गरेका ३५ वर्षीय शाह एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षको उमेरमै भारतको गुजरात पुगे । उनले अहमदावादको एक रेष्टुरेण्टमा भाडा माझ्ने काम सुरु गरे । एकपछि अर्को होटलमा काम गरेर नयाँ अनुभव बटुले । कामकै सिलसिलामा पकाउन सिके, अनि अङ्ग्रेजी भाषाको ज्ञान लिए । पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर सात वर्षमै उनी एक पाँचतारे होटलको सेफ बने।
सेफ शाहले भारतमा खानेकुरा महोत्सवसमेत आयोजना गरे। महोत्सवले शाहबारे तारिफ बढ्यो । लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीका सहयोगीले शाहलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे । उनी सन् २०१० मा बेलायत गए र एक रेष्टुरेण्टमा काम गरे। बेलायतकै ललित होटल र भारतको बनारसमा समेत उनले काम गरे । दुःख, सङ्घर्ष र सफलताले शाहको जीवन बदलिएको छ ।
गुजरातदेखि लण्डनसम्म
शाहले भारतको लायन हिल्स रिसोर्टमा १६ महिना काम गरे। सुरुमा पाँच महिना भाँडा धुने काम गरे, त्यसपछि सेफ बन्ने अवसर पाए। सोही समयमा उनले तन्दुरीको काम सिके । अर्को रेष्टुरेण्टमा काम गर्ने अवसर उनलाई मिल्यो । कामका दौरानमै शाहले भारतको चेन्नइबाट अङ्ग्रेजी भाषा र कम्प्युटर कोर्स गरे । भारतमा अनुभव बटुलेपछि बेलायतको राजधानी लण्डन पुग्ने अवसर उनलाई जुट्यो । लण्डनमा ‘दि स्पाइसी अफेयर्स’ रेष्टुरेण्टमा सेफका रुपमा उनले काम गरे । एक वर्षको अवधिमा अरु दुई रेष्टुरेण्ट परिवर्तन गरे । बनारस भन्ने रेस्टुरेन्टमा तीन वर्ष काम गरे । हाल उनी ‘सिनामन ग्रुप’ अन्तर्गतको रेष्टुरेण्टमा काम गर्छन्। लण्डनमा साततारे होटलभन्दा रेष्टुरेण्टको सेफको ‘भ्यालु’ हुन्छ ।
शाह पाँच भाषामा आफ्नो कामको अनुभव समेटी पुस्तक प्रकाशन गर्दै छन् । पेन्गुइन पब्लिकेशनले शाहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । उनले खानाको विश्वव्यापी मार्गचित्र बनाइएको जनाउँदै लण्डनबाटै प्रवचन शुरु गरिने जानकारी दिए । सरसफाइ र स्वच्छतालाई अभियानकै रूपमा नेपाल अघि बढे सफलतामा पुग्न सकिन्छ भन्ने उनको ठम्याइ छ।
अन्तिम प्रतिस्पर्धामा भान्से शाहले राँगाका मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेशको थालमा पस्किएका थिए। खानासँगै उनले नेवारी समुदायमा सगुनका रूपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गरेका थिए।
बीबीसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ शाहको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उनलाई विश्वस्तरमा प्रतिष्ठित बनायो । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका शाह देशविदेशका लाखौँ नेपालीको मन जित्न सफल भएका छन्। “म सिम्पल खाना बनाउँछु, नेपालीहरु अति नै सिम्पल छौँ, नेपालीपन नेपाली मनका साथ मौलिक खानाको परिकारको प्रस्तुतिले मेरो सफलता मिलेको हो”, नेपाली भान्से शाहले भने । उनको विचारमा नेपालीको विशेषता नै सरलीकृत जीवनशैली हो र आतिथ्यका क्षेत्रमा नेपालीले मात्रै विश्वलाई जित्न सक्छ ।रासस































प्रतिक्रिया