अमेरिकी फौजीकीराको प्रकोपले ५० बिघा क्षेत्रफलमा लगाइएको मकैमा क्षति, किसान चिन्तित

अमेरिकी फौजीकीराको प्रकोपले ५० बिघा क्षेत्रफलमा लगाइएको मकैमा क्षति, किसान चिन्तित

केन्द्रबिन्दु
0
Shares

जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजीकिराको प्रकोप देखापरेको छ । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकामा लगाइएको मकैमा फौजीकिराको प्रकोप देखिएको हो । 
 
कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार जिल्लामा लगाइएको वसन्ते मकैमा फौजी किराको प्रकोप देखिएको हो। उनका अनुसार अहिले ५० बिघा क्षेत्रफलमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको छ । 

जिल्लामा १४ हजार ३०० हेक्टरमा वसन्ते मकै लगाइने गरिएको छ । गत वर्ष ५१ हजार ५१ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस्तै वर्षेनी ६ हजार ७३ हेक्टरमा र हिउँदे ४ हजार ९८५ हेक्टरमा मकै लगाइने गरेको उनले जानकारी दिए। 
 
विशेषगरी यो किराले मकैको बिरुवा चारदेखि पाँच पाते हुन लागेपछि आक्रमण गर्ने गर्दछ । सो समयमा फौजी किराको माउले  फुल पार्ने र त्यो फुल लार्भा हुँदै विकसित भई मकैको पात खाने गर्दछ । ठूलो भएपछि गुभो खाने गरेको क्षेत्रीले बताए । सन् २०१९ मा नेपालमा पहिलो पटक देखिएको यो किरा विषादी पचाउन सक्ने भएकाले कृषकले मकै बारीमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । 
 
किराको प्रकोप देखिएमा प्राविधिकको सल्लाह बमोजिम विषादी छर्कनुपर्ने उनले बताए। बिहान ११ बजेदेखि बेलुका ३ बजेसम्म मात्रै विषादी छर्नुपर्ने विज्ञहरुको सुझाव छ। मकैको पातमा लार्भाले क्षति गरेको प्वाल तथा गुभोमा क्षतिको लक्षण देखा परेमा अनिवार्य रुपमा सुरक्षित भई विषादीको प्रयोग गर्न सकेमा प्रकोप नियन्त्रण गर्न उनको भनाइ छ । 

केन्द्रका प्रमुख राजन ढकालले अहिले फौजी किराले मकै सानो हुँदादेखि नै आक्रमण गर्न थालेको बताए। कृषकले मकै लगाएपछि बारीमा खासै नजाने हुँदा नियन्त्रण गर्न कठिन हुने उनको भनाइ छ। यसको नियन्त्रणका लागि कार्यालयले बाली उपचार शिविर सञ्चालन गर्दै आएको ढकालले जानकारी दिए। 

कृषक आफैं सजग नभएसम्म अमेरिकन फौजी किरा नियन्त्रणमा समस्या आउने उनले बताए। उनले भने, “कृषकले आफ्नो बारीमा लगाएको मकैको राम्रोसँग ख्याल गर्न जरुरी छ ।” भरतपुर–६ पारसनगरका कृषक धर्मराज पौडेल अहिले मकैमा सेतो पुतली जस्तो किराले क्षति गरेको बताउँछन् । मकै उम्रिएदेखि नै पुतलीले पात खाने गरेको उनको भनाइ छ । पौडेलले आफ्नोसँगै अरुको पनि मकैमा समस्या देखिएको जानकारी दिए। 

पुतली उड्ने र यसलाई विषादीलेसमेत काम नगर्ने समस्या छ । यसको नियन्त्रणका लागि ट्रयाप (पुतली पर्ने पासो) राखी नियन्त्रणको काम भइरहेको उनले बताए। यस पासोमा दुई दिनको आधा किलोजति पुतली पर्ने गरेको पौडेलले बताए। 

Logo