खुलेन नेपाल–चीनको व्यापारिक केन्द्र ताक्लाकोट, दुई सय नेपाली व्यापारी पलायन

खुलेन नेपाल–चीनको व्यापारिक केन्द्र ताक्लाकोट, दुई सय नेपाली व्यापारी पलायन

केन्द्रबिन्दु
0
Shares

साइपाल गाउँपालिका–६ का जगत् तामाङले लामो समयदेखि नेपाल चीनको व्यापारिक केन्द्र ताक्लाकोटमा व्यवसाय गर्दै आएका छन् । पछिल्लो दुई वर्षयता ताक्लाकोटस्थित पसल बन्द गरेर उनी काठमाडौंमा छन्। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चीनमा सरकारले लकडाउन घोषणा गर्यो । बन्दाबन्दीसँगै उनी पसल बन्द गरेर नेपाल फर्किए।

उनी मात्र होइन हुम्लाका टाँसी लामा, दार्चुलाका योगेश बोहरालगायत करीब दुई सय नेपाली व्यापारी नेपाल फर्किए । उनीहरु नेपाल फर्केको झण्डै दुई वर्ष पुग्नै लागेको छ। कोभिड–१९ को महामारी सुरु भएपछि प्रभावित नेपाल–चीनको व्यापारिक केन्द्र ताक्लाकोट बजार अझै खुल्न सकेको छैन। 

ताक्लाकोटमा मुगु, डोल्पा, हुम्ला, बझाङ र दार्चुलाका गरी करीब दुई सय नेपाली व्यवसायी छन्। लामो समयदेखि बजार बन्द हुँदा नेपाली व्यापारी मर्कामा परेका परेको तामाङ बताउँछन्। नेपालबाट निर्यात हुने र चीनबाट आयात भएका सामान ताक्लाकोटको गोदाममै थन्किएका छन्। महाव्याधिका कारण लामो समयदेखि सामान बिक्री गर्न नपाउँदा व्यवसायीलाई ठूलो क्षति भएको उनको भनाइ छ। उनले भने, “लकडाउन भएसँगै पसल बन्द गरेर नेपाल आइयो। अहिलेसम्म खोल्न पाएको छैन ।” पसल सञ्चालन गर्न त्यहाँको सरकारले नेपालीलाई ताक्लाकोटमा प्रवेश गर्न दिएको छैन। ताक्लाकोट जान नपाउँदा आफूहरु मर्कामा परेको उनी बताउँछन्। 

अहिले पनि समय समयमा केरुङ, तातोपानी नाका खुल्ने र बन्द हुने गरेका छन्। नेपाल सरकारको कूटनीतिक प्रयास प्रभावकारी नभएकाले दुई देशबीचको व्यापार बढ्न सकेको छैन । सङ्घीय सरकारले नाका सञ्चालनका लागि कूटनीतिक पहल नगर्दा आफूहरु मर्कामा परेको ताक्लाकोटमै व्यवसाय गर्दै आएका दार्चुलाका बोहरा बताउँछन् । उनी भन्छन्, “चीनले अन्य मुलुकसँग व्यापार अघि बढाइरहेको छ तर नेपाली नाकालाई अझै पनि खुल्न दिएको छैन। ताक्लाकोटमा पनि चीनतर्फका बजार खुलेका छन्। नेपालतर्फको बजार मात्र बन्द छ। चिनियाँलाई नेपाली बजारमा जान र नेपालीलाई बजार खोल्न निषेध गरिएको छ।

 कोभिडकै सङ्क्रमण हुने डर हो भने अन्य मुलुकसँग व्यापार गर्दा सङ्क्रमण नहुने र नेपालसँग गर्दा सङ्क्रमण हुन्छ भन्ने हुँदैन। व्यापारिक नाका सञ्चालनका लागि नेपाल सरकारले यथाशीघ्र पहल गर्नुपर्ने उहाँहरुको माग छ। 

ताक्लाकोट बजारमा नेपालीले वर्षौंदेखि हाते होजियारीका सामान, नेपाली गलैँचा, बाँस, निगालो, छाला, र अन्य हस्तकलाका सामानको व्यापार गर्दै आएका छन्। यस्तै मह, घिउ, छुर्पी, खुर्सानीलगायत दैनिक उपभोग्य सामान पनि चौंरी, भेडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरिएको छ। ताक्लाकोटलगायत नजिकैका लुक्पु, खोचेर, लुकोट आदि ठाउँमा नेपाली सामानको राम्रो व्यापार हुने गरेको छ। हाते होजियारी र हस्तकलाका सामान नेपाली बजारभन्दा तीन गुणा महँगोमा बिक्री हुने गरेको छ।

तिब्बतको विकट हिमाली क्षेत्रमा पर्ने शहर ताक्लाकोट भएर नै  हिन्दू, बौद्ध र बोन्पो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर जानुपर्ने हुन्छ। भारत, नेपाल र चीनको भूभागसँग जोडिएको सो क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिने अर्का व्यवसायी हुम्लाका लामा बताउँछन्।रासस

Skip This
Skip This
Logo