काठमाडौं ।
सरकारले बजार भाउ भन्दा कम मूल्यमा खसीबोका विक्री गर्दा आफूहरु मारमा परेको खसीबोका व्यापारीहरुले बताएका छन् ।
तर सरकारले बजार नियन्त्रणका लागि भन्दै जम्मा एक हजार खसीबोका ल्याएको छ । यो संख्या बजार नियन्त्रणका लागि न्यून हो । त्यसैले दशैंको बेला उपभोक्ताहरु फेरि पनि महँगो मूल्यमा खसीबोका खरिद गर्न बाध्य हुने देखिएको छ ।
काठमाडौंको कलंकीस्थित खसी बजारमा खसीबोका व्यापार गर्दै आएका व्यपारीहरुले दशैंको बेला मूल्य नियन्त्रणका लागि भन्दै सरकारले खरिद मूल्य भन्दा कम मूल्यमा खसीबोका विक्री गरिदिदा आफूहरु मारमा परेको गुनासो गरेका छन् ।
आफूहरुले किसानबाट खरिद गर्ने मूल्य भन्दा कम मूल्यमा सरकारले विक्री गर्दा समस्या पर्ने गरेको काठमाडौं चौपाया खरिदविक्री प्रालीका अध्यक्ष जनककुमार खडकाले बताए। बजार मूल्य नियन्त्रणका लागि भन्दै सरकारले अत्यन्तै कम मूल्य कायम गरिदिंदा आफूहरु र उपभोक्ताबिच द्वन्द्व सिर्जना हुने अवस्था रहेको पनि खड्काले बताए। यस्तै अर्का व्यापारी कुमार थापाले सरकारले तोक्ने मूल्य र आफुहरुले विक्री गर्ने मूल्यमा पहिलादेखि नै फरक पर्ने गरेको बताए। आफूहरुले ५ सय ५० रुपैयाँ देखि ६ सय रुपैयाँसम्म किसानबाट खरिद गरी ल्याएकाले सरकारले तोकेको मूल्यमा विक्री गर्न नसकिने पनि व्यापारीहरुले बताएका छन् ।
व्यापारीहरुले खसीबोकाको मूल्यमा अत्याधिक फरक पार्न सक्ने भन्दै काठमाडौं महानगरपालिकाले भने नियमित अनुगमन गर्दै आएको छ । महानगरपालिका वडा नंं. १४ का वडा अध्यक्ष शोभा सापकोटाले कस्तो खसी विक्री गर्ने कस्तो नगर्ने भन्ने सम्बन्धमा लगातार अनुगमन गरिरहेको बताइन् । उचित मूल्य निर्धारण गरेर मापदण्ड अनुसार नै विक्री वितरण गर्न समेत सचेत गराइएको पनि उनले बताइन् ।
बजार हस्तक्षेप गरी मूल्य नियन्त्रण गर्नका लागि भन्दै सरकारले एक हजार खसीबोका ल्याई आजदेखि विक्री शुरु गरेको छ । जुन बजारको मूल्य नियन्त्रणका लागि अपर्याप्त हो ।
व्यापारीहरुले सरकारले कम मूल्य निर्धारण गरी बजारमा विवाद उत्पन्न गराउन खोजेको आरोप लगाए पनि फेरी एक, दुई दिनमै मूल्यमा चलखेल हुन सक्ने सम्भावना देखिएको छ । यसबाट उपभोक्ताले अधिक मूल्य तिरेर खसीबोका किन्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ । अहिले सरकारले खसी बोकाको मूल्य प्रतिकेजी ५ सय ६० रुपैयाँ तोकेर १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ ।
तर खसीबजारमा जिउदो खसीको मूल्य प्रति केजी ६ सय रुपैयाँ देखि ६ सय ५० रुपैयाँ, जिउदो बोकाको मूल्य प्रति केजी ६ सय ५० रुपैयाँ देखि ६ सय ८० रुपैयाँ र च्याङ्ग्राको प्रतिकेजी ९ सय रुपैयाँ देखि ९ सय ८० रुपैयाँ सम्म विक्री वितरण भइरहेको छ ।





























प्रतिक्रिया