भारतीय सरकारसँगको सहकार्यमा बनेको हुलाकी राजमार्गको १३ वटा खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण भएको छ ।
बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा एक कार्यक्रमकाबीच नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गलाई निर्माण सम्पन्न भएका सडकखण्डहरु हस्तान्तरण गरे । कुल एक हजार ८ सय ५७ किलोमिटर लम्बाई भएको हुलाकी राजमार्गको दुईसय ७३ किलोमिटर आज हस्तान्तरण गरिएको छ । योसँगै हुलाकी राजमार्गलाई जोडने विरगञ्ज–ठोरी ३० किलोमिटर सडकखण्ड निर्माण सम्पन्न हुने चरणमा छ । नेपालको तराई क्षेत्रको विकासका लागि महत्वपूर्ण मानिएको हुलाकी राजमार्गको निर्माण लामो समयदेखि अड्किएर बसेको भएपनि निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । हस्तान्तरण कार्यक्रममा मन्त्री नेम्वाङ्गले नेपालको भौतिक पूर्वाधारको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताए । नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल सुखि नेपालीको नारालाई यसप्रकारका भौतिक पूर्वाधारको माध्यमबाट सकार पार्न सकिने उनको भनाइ छ ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । भारतले छिमेक पहिलो नीति लिएर छिमेकी देशको भौतिक पूर्वाधारको विकास, सामाजिक विकास र आर्थिक उन्नति हुने गरी सहयोग गरिरहेको उनको भनाइ छ । नेपालसँग रोटीबेटीको सांस्कृतिक सम्बन्ध पनि रहेको हुँदा सधैं सहयोग गरिरहने उनले बताए ।
आगामी महिना जनकपुर–जयनगर रेल सञ्चालन हुने अवस्थामा रहेको र त्यसका लागि भारत सरकारबाट प्राविधिक र जनशक्ति सहयोग भएको पनि उनले जानकारी दिए । यस्तै रक्सौल–काठमाडौं रेलमार्गका लागि डिपीआर तयार गर्ने काम पनि भारतीय सहयोगमा भइरहेको पनि राजदूत क्वात्राले बताए ।































प्रतिक्रिया