अब छिट्टै याङग्री र लार्केको पानी पनि काठमाडौं ल्याउँछौं : प्रधानमन्त्री ओली

अब छिट्टै याङग्री र लार्केको पानी पनि काठमाडौं ल्याउँछौं : प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिट्टै याङग्री र लार्केको पानी पनि मेलम्चीमै मिसाएर काठमाडौं ल्याइने बताएका छन् । उनले २०८१ सालसम्म ती नदीबाट पनि पानी ल्याएर काठमाडौं उपत्यकाको खानेपानीको मागलाई पुरा गराइने बताएका हुन् । 

आज मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् ।

मेलम्चीको पानी आउन धेरै कठिनाईहरुको सामना गर्नु परेको उल्लेख गर्दै उनले अब सरकार जस्तो समस्यासँग सामना गर्न पनि तयार रहेको बताए । ओलीले सरकारको गल्तीको सजायँ नागरिक हुन नहुने भन्दै वर्षौदेखि राजधानीका नागरिकले पानी नपाए पनि जरिवानासहित पानीको बील तिरिरहनु परेको भन्ने गुनासो अनुसार यस्तो महसुल अब तिर्नु नपर्ने पनि बताए । फरक प्रसंगमा ओलीले सरकारलाई अहिले पनि काम गर्न नदिइएको गुनासो गरे । 

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाका परिकल्पनाकार कृष्णप्रसाद भट्टराई, त्यसपछिका सरकार, काममा निरन्तर खटिने कामदार, राष्ट्रसेवक, स्थानियवासी लगायतलाई धन्यवाद दिइन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको समुद्घाटन गरेकी थिइन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेडलेद्वारा आयोजना गरिएको उद्घाटन कार्यक्रमका लागि मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा बनाएको नवनिर्मित धाराको टुटी खोलेर राष्ट्रपतिले पानी वितरणको औपचारिकरुपमा उद्घाटन गरेकी हुन्।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरु सहभागी भएका थिए। 

विगत तीन दशकदेखि काठमाडौं उपत्यकावासीले प्रतिक्षा गरेको मेलम्चीको पानी गत आइतबारदेखि नै काठमाडौंका सर्वसाधारणहरुको घर–घरमा पुगेर खान सुरु गरिसकेका छन्। 

Logo