दशैं लाग्यो तर लामो दुरीका यातायातमा छैन भिड (भिडियो)

दशैं लाग्यो तर लामो दुरीका यातायातमा छैन भिड (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

घटस्थापना शुरु भएको पनि आज ३ दिन भइसक्यो । दशैंमा घर फर्कने यात्रु नहुँदा लामो दुरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन् ।

काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड देखिएन् । सरकारले कात्तिक १ गतेदेखि पुरानै भाडादर लागू गरी पूर्ण क्षमतामा सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ । तर पनि सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको संख्या न्यून देखिएको छ ।

अघिल्ला वर्षहरुमा दशैं शुरु भएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको चहलपहल बसपार्क, कलंकी, र कोटेश्वर क्षेत्रमा निकै देखिन्थ्यो । अग्रिम टिकट बुकिङ गर्दा समेत सहजै यात्रा गर्न मुस्किल पर्ने गर्दथ्यो । तर यसवर्ष कोभिड संक्रमणका कारण ती क्षेत्रहरु सुनसान छन् । लामो दुरीमा यात्रा गर्ने सवारी साधन नै न्यून देखिन्छन् भने यात्रुहरुको संख्या पनि निकै कम छ । कात्तिक एक गतेदेखि सरकारले सवारी साधनको पुरानै भाडादर कायम राख्ने तर पूर्ण क्षमतामा यात्रु राख्न पाउने व्यवस्था गरेको छ । तर पनि यात्रु नपाउँदा समस्या भएको यातायात व्यवसायीहरुको भनाई छ ।

सरकारले पुरानै भाडादर कायम गरे पनि यात्रु पाउन कठिन भएको सवारीसाधन चालकहरु बताउँछन् । बसमा पूर्ण क्षमतामा यात्रु राख्दा जोखिम बढी हुने भएकाले यात्रुहरु नै बस चढ्न नमान्ने गरेको चालकहरु बताउँछन् ।

बसमा यात्रा गर्ने यात्रुहरुले पनि असुरक्षित महसुस भएको बताएका छन् । सवारीसाधनमा यात्रा गर्ने यात्रुको संख्या न्यून भएको तर लामो समय कुरेरै भए पनि पूर्ण क्षमतामा यात्रु राख्ने गरेकोले जोखिम महसुस भएको यात्रुहरुको भनाई छ । यस्तै सार्वजनिक सवारीसाधनमा सामाजिक दुरी कायम नगर्ने, मास्क र सेनिटाइजरको प्रयोग नगरेको पाइएकाले पनि संक्रमणको जोखिम महसुस भइरहेको यात्रुहरु बताउँछन् ।

संक्रमणको जोखिमका कारण नेपाल सरकार र स्थानीय तहहरुले जो जहाँ छ त्यहिं नै दशैं मनाउन आग्रह गर्दै आएका छन् । त्यसैले पनि यसपटकको दशैंमा उपत्यकाबाट घर फर्किने मानिसहरु न्यून संख्यामा देखिएका छन् ।

Logo