सरकारद्वारा भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ अनलाइन सेवा आरम्भ

सरकारद्वारा भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ अनलाइन सेवा आरम्भ

केन्द्रबिन्दु
0
Shares

नेपाल भूमि सूचना पद्धति (नेपाल ल्याण्ड इनफरमेशन सिस्टम–नेलिज) तथा ‘मेरो कित्ता’ कार्यक्रमको आज शुभारम्भ गरिएको छ। घरमै बसेर जग्गाको नक्शा प्रकाशन, राजश्व भुक्तानीलगायत व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले आजदेखि सुरु गरेको हो। मेरो कित्ताको वेबसाइट गरेर उक्त सेवा लिन सकिनेछ। 

नापी विभागद्वारा आज नेलिज तथा ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रविधिको विकासमा जोड दिएको बताए। “सकभर आफैँले प्रविधिको विकास गर्ने हो, नसके अरु देशबाट लिन्छौँ”, प्रधानमन्त्री ओलीले भने, “हामीले लगानी र प्रविधि आयातमा जोड दिएका छौँ।” सो अवसरमा प्रधानमन्त्री ओलीले कलङ्की कार्यालयकी सेवाग्राही दमन्ता ढुङ्गानालाई नक्शाको प्रकाशन पनि हस्तान्तरण गरे।  

सरकारले सबै क्षेत्रमा आधुनिकीकरणको विकास गर्न खोजेको स्पष्ट पार्दै उनले जमीनको उपभोग र कृषि क्षेत्रमा आत्मनिर्भर हुन जरुरी रहेको बताए। उत्पादकत्वमा जोड दिनुपर्ने जनाउँदै उनले  ठूलो मात्रामा उत्पादन गरी आन्तरिक र अन्तर्राष्ट्रिय बजार खोज्न सुझाव दिए। नेपाल माछा, मासु र अण्डामा आत्मनिर्भर बनेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सागसब्जी र खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए। 

“यसमा आत्मनिर्भर बन्नका लागि हाम्रा आनीबानीमा सुधार गर्नुपर्छ”, उनले भने, “देशलाई खाद्यवस्तु निर्यात गर्ने अवस्थामा पुर्याउनु पर्छ।” सरकारले व्यापार घाटा घटाउँदै लगेको जनाउँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण बाधा उत्पन्न भएको बताए। छिमेकी भारतमा कोरोना सङ्क्रमण ह्वात्तै बढेकाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने हुँदा सबैलाई त्यसप्रति सजग रहन उनले आग्रह गरे। “सीमामा सतर्कता बढाउनु पर्छ, क्षति कम गर्न सबैको प्रयास आवश्यक छ”, उनले भने। 
    
नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका लागि सिफारिस भएको प्रसङ्ग उल्लेख गर्दै उनले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्ने अभियानमा सरकार लागिपरेको बताए। ‘क्लिन इनर्जी’ अभियान सञ्चालन गर्दै सरकारले विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिएको उनले स्पष्ट पारे। 

काममा व्यवधान गर्ने र ढिलासुस्ती गर्नेबाट क्षतिपूर्ति 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा अस्वाभाविक रुपमा ढिलाइ भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले काममा व्यवधान खडा गर्ने र ढिलासुस्ती गर्नेबाट क्षतिपूर्ति लिइने स्पष्ट गरे। “हामीलाई काममा विलम्ब स्वीकार्य छैन, यस्तो कार्यमा संलग्न देशभित्रका हुन् वा देश बाहिरका, तिनीहरुबाट क्षतिपूर्ति लिन्छौँ”, उनले भने। तामाकोशी आयोजनामा निर्माण कम्पनीले सामान्य समस्या देखाएर   ढिलासुस्ती गरिरहेको तथा हरेक दिन पाँच करोड नोक्सान भइरहेको उनको भनाइ थियो। 

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सेवाग्राहीले सास्ती खेप्नु परेका कारण अनलाइन सेवामा जोड दिइएको बताइन्। “नापी र मालपोत कार्यालयमा सेवा लिन आउनेले दुःख पाउने गरेका छन्, सहज सेवा दिन हामीले यो सेवा सुरु गरेका हौँ”, उनले भनिन् । अब सबैले प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै डा तुम्बाहाङ्फेले भावी सन्ततिका लागि यो अति आवश्यक भएको जनाइन्। कर्मचारीका बारेमा जनगुनासो बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै उनले कर्मचारीले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिइन्। “बेथितिको अन्त्य गर्न नेलिज र मेरो कित्ता ल्याएका हौँ”, डा तुम्बाहाङ्फेले भनिन्।

Skip This
Skip This
Logo