रसुवामा अन्तर्राष्ट्रिय राजमार्ग सुधारका काममा तिव्रता, अबरुद्ध ग्रामिण सडक पनि संचालनमा

रसुवामा अन्तर्राष्ट्रिय राजमार्ग सुधारका काममा तिव्रता, अबरुद्ध ग्रामिण सडक पनि संचालनमा

केन्द्रबिन्दु
0
Shares

रसुवा।

तीन वर्ष अगाडि कच्ची साधारण मार्गका रूपमा खोलिएको स्याफ्रु–मैलुङ राजमार्गमा सुधारका काम अगाडि बढेको छ । अन्तर्राष्ट्रिय राजमार्गमा पर्ने १७ किमी उक्त भूभागमा टेवा पर्खाल, नाली र कालोपत्रसमेतका काम गराउन पहिलो चरणमा सडक सतह मिलाउने काम अगाडि बढेको हो ।

कोरोना भाइरस नियन्त्रणको मापदण्ड पूरा गरी केही उपकरणका साथै ४० भन्दा बढी मजदूर परिचालन भएका छन् । नियम अनुसार निर्माण व्यवसायी कम्पनी छनोट गर्ने काम सम्पन्न भई गत भदौदेखि स्थलगत रूपमा राजमार्ग सुधारको काम अगाडि बढेको प्राविधिकहरूले बताएका छन् ।

गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार राजमार्ग सुधारका काम सम्पन्न गराउन भारतीय कन्स्ट्रक्सन कम्पनी तथा सिद्धि शाही जेभीलाई जिम्मा दिइएको छ ।

एक अर्ब ४५ करोडका लागतमा सम्पन्न हुने राजमार्गको सतह ११ मिटर फराकिलो हुनेछ । सुधारको काम ३० महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भइसकेको बताइएको छ।

नेपाल–चीनबीच व्यापारिक कारोबार गर्ने एक मात्र नेपालको जेठो उत्तरीनाका रसुवागढीको व्यवस्थापन अन्तर्गत गल्छीदेखि रसुवागढीसम्म डबल लेनको राजमार्गका पूरै भागमा सुधारको काम भइरहेको प्राविधिकहरूले जानकारी दिएका छन् ।

भौगोलिक कठिनाइ भएका स्थानमा नेपाली सेनाले डबल लेनको ट्रयाक निर्माण गरी रक्षामन्त्री ईश्वर पोखरेलमार्फत सडक विभागमातहतको सुधार आयोजनालाई हस्तान्तरण भएको थियो । उक्त राजमार्गमा थप मर्मत सुधार एवं कालोपत्र गर्ने काम सम्पन्न भएपछि सामान आयातनिर्यातमा अन्यन्तै सरलता आउने व्यापारी व्यवसायीले बताएका छन् ।

धादिङको गल्छीदेखि नुवाकोटको देवीघाट, ढुङ्गे र बेत्रावती, रसुवाको मैलुङ, स्याफ्रुबेँसी हुँदै रसुवागढी अन्तर्राष्ट्रिय सिमानासम्म ८५ किमी दूरी छ । राजमार्गमा निर्माण गर्नु पर्ने ३२ सानाठूला पक्की पुलमध्ये तीन वटाको काम ९० प्रतिशत र आठ वटाको काम करीब ५० प्रतिशत भइसकेको छ। निर्माण गर्न बाँकी २१ पुलको भने निर्माण कम्पनी नियुक्तिका लागि कानूनी प्रक्रिया अगाडि बढिरहेको प्राविधिकले जनाएका छन् ।

बेत्रावतीदेखि कालिकास्थान, धुञ्चे हुँदै स्याफ्रुबेँसीसम्म ५४ किमी तथा बेत्रावती– मैलुङतर्फको दूरी २९ किमी छ । नदी किनारबाट निर्माण भएको राजमार्ग उकालो ओरालोरहित भएकाले मोटर गुडाउन सजिलो र दुर्घटनामा समेत न्यूनीकरण हुने आयोजना प्रमुख भण्डारीले जानकारी दिए । यस्तै मैलुङतर्फको राजमार्गमा सुधार अगाडि बढेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।

गाउँगाउँमा यातायात सञ्चालन

बाढीपहिरोका कारण अवरूद्व ग्रामीण सडक पुनःसञ्चालनमा आएको छ । स्काभेटरको सहायताले उत्तरगया, नौकुण्ड र कालिका गाउँपालिका अन्तर्गतका करीब १७० किमी सडक सञ्चालनमा आइसकेका छन् । ग्रामीण सडक पुनः सञ्चालनमा आएसँगै अत्यावश्यक खाद्य सामग्री ढुवानी र बिरामी अस्पताल लान सहज भएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए।

गत साउन तथा भदौमा परेको अविरल वर्षाले अवरूद्व गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिका क्षेत्रका ग्रामीण सडकसमेत पुनः सञ्चालनमा ल्याउन काम अगाडि बढिरहेको बताइएको छ ।

नौकुण्ड गाउँपालिकाका यार्सा, पारच्याङ, सरमथली, सिङ्बन्दी, सरसिउँ र भोर्लेसम्मका आफ्ना आधार इलाका क्षेत्रको छ वटा वडाका सडकमा आएका पहिरो हटाई सवारी साधन सञ्चालन गराउन रू ३२ लाख खर्च भएको गाउँपालिका अध्यक्ष नुर्पुसाङ्बो घलेले जानकारी दिए ।

कालिका गाउँपालिकाले भने राम्चेको पलेप, धारापानीदेखि भदौरे हुँदै ज्याङ्लाङ, धारापानी, कुडुल्ले, घुम्ती बजार, धोबीखोला र जिबजिबे ग्रामीण सडक सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष सीता पौडेलले ग्रामीण सडकका ससाना पहिरो पन्छाउन गाउँपालिकाकै स्वामित्वमा रहेको सानो डोजर परिचालन गरिएको र ठूलाखाले पहिरो पन्छाउन ठूलै क्षमताको डोजर भाडामा ल्याई प्रयोग गरिएको बताए। सोका लागि करीब १० लाख लाग्ने जनाइएको छ ।

उत्तरगया गाउँपालिकाको सडक सुधारका लागि रू १५ लाख विनियोजन भएको छ । गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले वर्षा याममा क्षति भएका अधिकांश ग्रामीण सडक सञ्चालनमा आइसकेको जानकारी दिए ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भने रोङ्गादेखि थुमन एवं सानो भार्खुदेखि ठूलो स्याफ्रुसम्मको सडक मर्मतको काम अगाडि बढिसकेको बताए। गाउँपालिका क्षेत्रमा रहेको करीब ४५ किमी ग्रामीण सडक चारपाँच दिनभित्र सञ्चालनमा ल्याइसकिने छ । काम सम्पन्न गराउन रू १५ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष तामाङले जानकारी दिए । आमाछोदिङमो गाउँपालिकाको विवरण भने आउन बाँकी छ ।रासस

Logo