२०७२ सालको भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त धरहरा स्तम्भको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य सम्पन्न भएसँगै वैशाख ११ गते धरहराको उद्घाटन गरिंदैछ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएपछि वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरिसकेको छ । त्यसैले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिको रुपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले धरहरा स्तम्भको अवलोकन गरेका छन्। सो क्रममा वैशाख १० गतेभित्र धरहरा स्तम्भभित्र गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गर्न निर्देशनसमेत दिए।
प्राधिकरणका प्राविधिक सल्लाहकार राजुमान मानन्धरले धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिए। तर केही फिनिसिङ्को काम बाँकी रहेको र अवको ५ दिनभित्रमा सबै सम्पन्न भइसक्ने पनि बताए। अहिले रङ्रोगन गर्ने, बत्ती जडान गर्ने लगायतका काम धमाधम भइरहेको छ। उनले अहिले धरहरा स्तम्भको ९८ प्रतिशत काम सम्पन्न भइसकेको बताए।
धरहरामा धरहरा स्तम्भसँगै कार पार्किङस्थल, उद्यान, म्युजियम लगायतका संरचनाहरु बन्नेछन्। अहिले धरहरा स्तम्भको मात्रै निर्माण सम्पन्न भएको हो। बाँकी काम पनि धमाधम भइरहेको मानन्धरले बताए। विशुद्ध पर्यटकीय स्थलका रुपमा निर्माण गरिएको धरहरामा मिन्ट म्युजियम र अर्थ क्वेक म्युजियम रहनेछन्। धरहरामा चढ्ने र ओर्लिने गरी दुईतर्फि लिफ्ट हुनेछन् । धरहराको २० औं तलामा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नका लागि सिसाले घेरिएको भ्यु डेक बनाइएको छ। धरहराको कुल उचाई २ सय ४५ फिट रहेको छ।































प्रतिक्रिया