१० अर्बको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ स्थापना

१० अर्बको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ स्थापना

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघले १० अर्ब लगानी भित्र्याउने अठोटका साथ ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’को स्थापना गरेको छ ।

संघको प्रयास र नेपाल सरकार अर्थ मन्त्रालयको समन्वयमा २०७७ चैत ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड’दर्ता भइसकेको छ। यो कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ रहेको छ। जसमा नेपाल सरकारले ५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ लगानी गर्नेछ। यस्तै ३ अर्बको वैदेशिक मुद्रामा लगानीको प्रतिवद्धतासमेत प्राप्त भइसकेको संघले जनाएको छ। 

फण्डबारे जानकारी दिने उद्देश्यले सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुको बीचको पूँजीलाई नेपालमा भित्र्याई उत्पादनमुलक र रोजगारीमुलक क्षेत्रका आयोजनामा लगानी हुने विश्वास व्यक्त गरे। अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुको पूँजी मात्रै भित्र्याउने भन्दा पनि वैदेशिक लगानी भित्र्याउनका लागि लगानी दुत भएर काम गर्न सुझाव दिए। 

यसरी लगानी भित्र्याउँदा कालोधन हुन नहुने, बैंकिङ प्रणालीमार्फत मात्रै रकम ल्याउन र राष्ट्रिय प्राथमिकताका आयोजनामा लगानी गर्ने गरी ल्याउनेतर्फ ध्यान दिन पनि आग्रह गरे। वैदेशिक लगानी भित्रिने सुनिश्चित भए सरकारले अनुकूल वातावरण निर्माण गरिदिने प्रतिवद्धता पनि अर्थमन्त्री पौडेलले व्यक्त गरे। 

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीले व्यक्तिगतरुपमा धेरै अगाडिदेखि लगानी गर्दै आएको भएपनि सन् २०१२ देखि सामुहिकरुपमा लगानी भित्र्याउन सुरु गरेको बताए। अहिले पनि १० अर्ब रुपैयाँ सामुहिक लगानी गरी देशको विकास पूर्वाधारहरुमा लगानी गर्ने योजना अनुसार काम सुरु गरिएको बताए। केही वर्षभित्रमा यो फण्डलाई बढाएर ५० अर्बभन्दा माथि पुर्याउने प्रतिवद्धतासमेत व्यक्त गरे। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले १० अर्ब रुपैयाँबाट सुरु भएको फण्डलाई १ खर्ब पुर्याउने योजना रहेको पनि बताए। सो फण्डमार्फत पुँजी र प्रविधि मात्रै भित्रिने नभई कर्पोरेट कल्चर, गुड गभर्नेन्स र ट्रान्सफरेन्सी पनि भित्रिने बताए। त्यसका लागि नेपाल सरकारको साथ र सहयोग आवश्यक रकेको पनि बताए। 

एनआरएन नेपाल डेभलपमेन्ट फण्डले नेपालको उद्यम, व्यवसाय, यातायात, पूर्वाधार, पर्यटन, कृषि, उर्जा लगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्य राखेको छ। कोष निर्माणका लागि गैरआवासीय नेपालीलाई लक्षित गरी प्राथमिक शेयर (आईपीओ) निष्काशन गरिनेछ। 

Logo