राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनस्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको जनाएको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षति भएका निजी अवास क्षेत्रको पुनर्निर्माणको प्रगति उच्च रहेको बताएका हुन्। अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेको र उक्त संख्या ९३ प्रतिशत हुने बताए। यस्तै पहिलो किस्ता वितरण ९९.८६ प्रतिशत, दोस्रो किस्ता वितरण ८६.७८ प्रतिशत र तेस्रो किस्ता वितरण ७८.६६ प्रतिशत पुगिसकेको पनि बताए।
यसै आर्थिक वर्षभित्र निजी आवासको मूलभूत काम सम्पन्न गर्ने लक्ष्य हासिल हुने पनि बताए। निजी आवास पुनर्निर्माणका क्रममा प्राप्त भएका ६ लाख ३४ हजार ९ सय ७३ गुनासाहरुको सम्बोधन गरिएको उनले जानकार दिए।
भूकम्पपछि २ सय ९९ वटा असुरक्षित स्थानमा रहेका ४ हजार ७ सय २० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाउने र १२ हजार ७ सय ८८ भूमिहिन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना भइरहेको पनि बताए।
क्षतिग्रस्त ९ सय २० सम्पदा मध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भइकसकेको छ भने २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन्। रानीपोखरीको पुनर्निर्माण सम्पन्न भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भइसकेको र धरहराको बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने पनि सिइओ ज्ञवालीले बताए।
सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको पूनर्निर्माण सम्पन्न भई गत वर्षदेखि सञ्चालनमा आइसकेको छ। केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्राहलय क्षेत्रमा रहेको रणोद्दीप दरबार लगायतका पुरातात्विक महत्वका दरबारहरुको जिर्णोद्वार गर्ने कार्य जारी रहेको सिइओ ज्ञवालीले बताए। क्षति भई मर्मत गर्नुपर्ने ४ सय २ गुम्बा मध्ये २ सय ९४ वटा सम्पन्न भइसकेका छन्। पुनर्निर्माण गर्नुपर्ने ८ सय ९५ मध्ये एक सय भन्दा पुराना र २ हजार वर्ग फिट भन्दा बढी प्लिथ एरिया भएका २ सय ६४ वटा गुम्बामध्ये ३६ वटा र १ सय वर्ष भन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६ सय ३१ गुम्बामध्ये १ सय १ वटाको पुनर्निर्माण कार्य अगाडि बढिसकेको छ।
भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ, बाँकी १७ प्रतिशत विद्यालय पुनर्निर्माणको चरणमा छन्। यस्तै १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ को पुनर्निर्माण सम्पन्न भएको र २ सय ९६ को पुनर्निर्माण जारी छ। कुल ४ सय १५ सरकारी भवन मध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ। सुरक्षा निकायका २ सय १६ संरचना मध्ये २ सय १४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ। त्यसबाहेक सडकतर्फ ७ सय ६२ किलोमिटर पुनर्निर्माण गर्नुपर्नेमा ५ सय २५ किलोमिटर पुनर्निर्माण सम्पन्न भएको सिइओ ज्ञवालीले बताए।
पुनर्निर्माणका लागि दाता सम्मेलनमार्फत छिमेकी मुलुकहरु तथा मित्रराष्ट्र तथा गैरसरकारी संस्थाहरुबाट प्रतिबद्धता प्राप्त भएको ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब राहत तथा उद्दार एवं अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएकोले वास्तविक प्रतिबद्धता २ खर्ब ९४ अर्ब रुपैयाँ मात्र भएको ज्ञवालीले स्पष्ट पारे। यसमध्ये २ सय ४३ अर्ब रुपैयाँका लागि सम्झौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको बताए। गैरसरकारी संस्थाहरुसँग करिब ९० अर्ब रुपैयाँ परिचालनका लागि सम्झौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको छ।
यो अवधिमा भत्केका संरचनाहरु मात्र पुनर्निर्माण भएका छैनन्। पुनर्निर्माण अभियानले महत्वपूर्ण गुणात्मक परिवर्तनसमेत ल्याएको सिइओ ज्ञवालीले बताए। करिब ४० करोड ७५ लाख कार्यदिन बराबरको रोजगारी सृजना भएको पनि बताए। त्यसबाहेक सिमेन्ट, इँटा, छड, जस्तापाता, क्रसर एवं काठ लगायतका उद्योगहरुको प्रवर्धनमा टेवा पुगेको पनि बताए।
भूकम्प र त्यसपछिको पराकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाको मूल उद्देश्यसहित २०७२ पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको थियो। प्राधिकरण स्थापना भएको ६४ महिना पुगेको छ। यो अवधिमा विपद्लाई अवसरका रुपमा उपयोग गरी भूकम्प प्रभावित ३२ जिल्लामा निजी आवास, शैक्षिक तथा स्वास्थ्य संस्था एवं पुरातात्विक सम्पदासहित ठूलो संख्यामा क्षतिग्रस्त संरचनालाई भूकम्प प्रतिरोधी ढङ्गले पुनर्निर्माण गर्ने काम भइरहेको प्राधिकरणले बताएको छ।





























प्रतिक्रिया