कोरोना सङ्क्रमणको महामारीका बीच पनि चिया निर्यातमा उल्लेखनीय वृद्धि

कोरोना सङ्क्रमणको महामारीका बीच पनि चिया निर्यातमा उल्लेखनीय वृद्धि

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस सङ्क्रमणको महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। 

आर्थिक वर्ष २०७६/०७७ मा दुई अर्ब ७८ करोड बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकोमा चालू आर्थिक वर्षको नौ महिनाको अवधिमै तीन अर्ब ६ करोड बराबरको नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। 

त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार आव २०७५/०७६ मा २५ हजार २०५ मेट्रिक टन चिया उत्पादन हुँदा आव २०७६/०७७ मा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो। गत वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर परे पनि अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षति व्यहोर्नु परेन। 

लकडाउनका बीच पनि स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी बोर्डको अग्रसरतामा चिया बगान र उद्योग सञ्चालनमा रहेका थिए। यस समयमा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराइले जानकारी दिए। 

बोर्डले भोलि वैशाख १५ गते ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ राष्ट्रिय चिया दिवसको २५ औँ संस्करण मनाउँदैछ। नेपालले धेरै उपभोग्य वस्तु आयात गर्नुपरेको परिप्रेक्षमा मुलुकलाई आवश्यक पर्ने चिया आफैँ उत्पादन गरी आत्मनिर्भर भएको पनि धेरै भइसकेको छ। स्वदेशमा चिया उपभोग गरी बढी भएको उत्पादन भारतलगायतका तेश्रो मुलुकमा निर्यात भइरहेको छ। नेपाली चियाको खपत वार्षिक २०० ग्राम प्रतिव्यक्ति भन्दा कम रहेको अनुमान गरिन्छ। छिमेकी मुलुक भारतमा भने वार्षिक ३३० ग्राम प्रतिव्यक्ति खपत रहेको छ। 

आन्तरिक खपत वृद्धि गर्न निर्यातका अलावा स्वदेशी बजार विस्तारमा चिया उद्यमी र सरोकारवाला लाग्नुपर्ने उनको भनाइ छ। चियामा पाइने थिफलाबिन तत्वले कोरोना भाइरसको असरलाई समेत रोक्न सहयोग पुग्ने चिया अनुसन्धान सङ्घले जनाएको छ।रासस

Skip This
Skip This
Logo