किर्ते गरेर १३ लाख झिकी बैंक ‘क्यासियर’ नै फरार भएपछि…

किर्ते गरेर १३ लाख झिकी बैंक ‘क्यासियर’ नै फरार भएपछि…

केन्द्रबिन्दु
0
Shares

वित्तीय निकायमध्ये बैंक आर्थिक सुरक्षाको दृष्टिले निकै भरपर्दो मानिन्छ। त्यसमा पनि सरकारको स्वामित्व रहेको बैंकको भरोसा त हुने भयो नै।

तर, सरकारकै स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक दुल्लु दैलेख भने असुरक्षित देखिएको छ। त्यहाँका एकजना क्यासियरले बचतकर्ताको बचत रकम नै झिकेर फरार भएको विवरण सार्वजनिक भएको छ।

ती क्यासियर हुन् जयबहादुर थापा। उनी दुल्लु नगरपालिकाकै हुन्। उनीबाट देवे कामी र भवानीप्रसाद जैसी पीडित भएका छन्। जैसी र कामी सोही नगरपालिकाको वडा नम्बर–८ का हुन्।  

केन्द्रविन्दुसँग सम्पर्कमा आएका पीडितमध्येका भवानीले आफ्नो पैसा खाताबाट क्यासियर जयबहादुरले निकालेर लगेको वैशाखको ५ गते सुनेको बताए। जबकि चेक चाहिँ उनीसँगै थियो।

उनका अनुसार उक्त दिन शुक्रबार भएको र ६ गते शनिबार भएपछि उनी ७ गते बैंकमा गए।

त्यहाँ गएर अर्का क्यासियरलाई सोधे–‘सर ! खातामा मेरो पैसा कति छ?’
त्यसबेला क्यासियरले ‘एक लाख ८५ हजार छ’ भनेपछि उनी झस्किए। उनको खाता नम्बर हो–४३४०००२१८७१० हो।

यो खातामा विभिन्न समयमा जम्मा गरिएको पैसामध्ये ८ लाख नभएपछि उनले ‘स्टेटमेन्ट’ मागे।

बैंकले दियो। हेर्दाखेरी फागुनको १२ गते नै थापाले पैसा निकालेको देखिएको जैसीले बताए।

हुनतः चैतको ३/४ गते सोही बैंकमा उनी गएका थिए। त्यसबेला सुर्खेतमा रहेका छोरा राजकुमार जैसीलाई १० हजार पैसा पठाए।

‘पठाएपछि क्यासियरलाई सोध्दा ९ लाख ८५ हजार रूपैयाँ रहेको भन्या थिया’, जैसीले भने।

यसरी एक महिनाको अन्तरालमा खातामा रहेकोमध्ये उनको ८ लाख रूपैयाँ हिनामिना भएपछि उनी बैंकको शाखा प्रबन्धकहाँ पुगे। प्रबन्धक हुन् कृष्णप्रसाद उपाध्याय।

उनलाई खातामा भएको पैसामध्ये ८ लाख नभएको र शोधभर्ना गरिदिन आग्रह गरे।
जैसीका अनुसार प्रबन्धक उपाध्यायले १/२ दिनमा शोधभर्ना गरिदिने आश्वासन दिए।
सोहीअनुसार चैत ९ गते जाँदा पनि जैसीले शोधभर्ना भएको पाएनन्। सोही दिन उनले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा शोधभर्ना गराइदिन भन्दै निवेदन दिएका छन्।

बैंकका शाखा प्रबन्धक उपाध्यायले निक्षेपकर्ता जैसीको खातामा रहेको रकम जयबहादुरको नामबाट खर्च भएको देखिएको बताए।

‘बैंकले ८ लाख रूपैयाँ खातामा नभएको गुनासोपछि छानबिन गरेको छ र, छानबिनका क्रममा जयबहादुरको नामबाट उक्त रकम खर्च भएको देखिएको छ,’ प्रबन्धक उपाध्यायले भने, ‘पीडितको निवेदन र छानविन प्रतिवेदन बैंकको केन्द्रीय कार्यालयलाई जानकारी गराइएको छ।’

आरोपित जयबहादुर गत चैतमा अनिवार्य घर विदामा गएका हुन्। उनी कार्यालय आएका छैनन्। बैंकले पनि उनको खोजी गरिरहेको छ।

प्रबन्धक उपाध्यायले बैंकले पीडितलाई जसरी पनि शोधभर्ना गराउने बताएका छन्।
तर, कसरी निक्षेपकर्ता जैसी र कामीको रकम झिकियो भन्ने स्पष्ट हुन नसकेको बताए।

यता जिल्ला प्रहरी कार्यालय दैलेखले पीडितहरूले बैंककै कर्मचारीबाट भएको आर्थिक हिनामिनाबारे जानकारी गराएको जनाएको छ।

प्रवक्ता तथा प्रहरी निरीक्षक ईन्द्रजीत सुनारले पीडितहरूलाई कानूनी प्रक्रियाअनुसार अगाडि बढ्का लागि उजुरी मागिएको बताए।

‘उहाँहरू (पीडितहरू) आउनु भएको थियो। उजुरी चाहिँ थिएन। त्यही भएर कानूनी प्रक्रियाअनुसार अगाडि बढ्न भनेर उजुरी लिएन आउनुहोला भनेका छौं र उहाँहरू छिट्टै आउने होला।’ प्रवक्ता सुनारले बताए।

पीडितमध्येका जैसी सेवा निवृत्त हुलाकका कर्मचारी हुन्। क्यासियर जयबहादुरलाई उनले बैंकमा आउँदा चिनेको बताएका छन्। नाताका भने होइनन्।

Skip This
Skip This
Logo