निषेधाज्ञापछि वैदेशिक रोजगारीमा जाने संख्या ह्वात्तै घट्यो

निषेधाज्ञापछि वैदेशिक रोजगारीमा जाने संख्या ह्वात्तै घट्यो

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीको दोेस्रो लहरसँगै उपत्यकालगायत देशभरका विभिन्न ठाउँमा लागू भएको निषेधाज्ञाका कारण वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ।  वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार देशभरिका श्रम कार्यालयमार्फत् मंगलबार र बुधबार क्रमशः १ हजार ९ सय ५८ र २ हजार १९७ श्रम स्वीकृति जारी गरिएका थिए भने बिहीबारबाट निषेधाज्ञा लागू भएपछि उक्त संख्या १ हजार ८५ मा झरेको हो। 

वैदेशिक रोजगार विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईका अनुसार निषेधाज्ञाका कारण यातायातमा परेको प्रभावले गर्दा श्रम स्वीकृतिको संख्या घटेको हो। ‘हाम्रा सबै कार्यालयहरू श्रम स्वीकृति वितरणका लागि खुला छन्। अन्तर्राष्ट्रिय उडान पनि खुल्ला नै रहेको अवस्थामा वैदेशिक रोजगारमा जान चाहनेका लागि कुनै किसिमको रोकटोक छैन। तथापि, निषेधाज्ञाका कारण यातायातमा परेको प्रभावले गर्दा श्रम स्वीकृति लिनेको संख्या घटेको हो,’ भट्टराईले भने। 

कोभिड–१९ को पहिलो लहर सुरु भएसँगै सरकारले २०७६ साल फागुन ३० गतेबाट वैदेशिक रोजगारमा जानेहरूलाई श्रम स्वीकृति दिन बन्द गरेको थियो। पाँच महिनाको रोकावटपछि २०७७ सालको भदौ १४ गते जोखिमपूर्ण देशहरू पहिचान गरी ती बाहेकका देशहरूमा श्रम स्वीकृति दिने कार्य पुनः सुचारु गरिएको थियो। 

कोभिड–१९ को पहिलो लहर सुरु हुनुअघि २०७६ साल मङ्सिरमा वैधानिकीकरणबाहेकका श्रम स्वीकृति लिनेको दैनिक औसत संख्या २ हजार १ सय ३५ रहेको थियो।

वैदेशिक रोजगारमा जानेको संख्यामा आएको कमीले वैदेशिक मुद्राको सञ्चितिमा असर गर्ने अर्थशास्त्री प्रा.डा. चन्द्रमणि अधिकारीले बताएका छन्। 

वैधानिकीकरणबाहेकका श्रम स्वीकृति लिनेको दैनिक औसत संख्या ०७६ सालको पुस, माघ र फागुनमा क्रमशः १ हजार ९ सय ७२, १ हजार ८ सय ३६ र १ हजार ८ सय ६५ रहेको थियो। 

त्यसबेला कोभिड–१९ विश्वभर फैलने क्रम सुरु भएसँगै विभिन्न राष्ट्रहरूले सुरक्षा सतर्कता अपनाउँदै सीमा नाका बन्द गरेपंछि विदेसिनेहरूको संख्या ओरालो लाग्न थालेको थियो। २०७६ साल फागुन  ३० गतेबाट वैदेशिक रोजगारमा जानेहरूलाई श्रम स्वीकृति दिन बन्द गरेसँगै देशभित्र रहेका युवाहरू विदेसिने क्रम घट्यो भने देशबाहिर काम गरिरहेका युवाहरूले काम गुमाउने र स्वदेश फर्कने क्रम पनि सुरु भयो। 

नेपाल राष्ट्र बैंकको आ.व.२०७६/७७ को आर्थिक गतिविधि अध्ययनअनुसार २०७६/७७ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा ०.५ प्रतिशतले संकुचन आयो। आ.व.२०७५/७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो।

कुल गार्हस्थ उत्पादनको २५ प्रतिशतको हाराहारीमा हिस्सा ओगटेको विप्रेषण आप्रवाहमा संकुचन आउनुले अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको थियो। 

२०७७ साल भदौ १४ देखि श्रम स्वीकृति पुनः सुचारु भयो।  वैदेशिक रोजगार विभागको तथ्याङ्कका अनुसार २०७७ साल मङ्सिरमा वैधानिकीकरण बाहेकका श्रम स्वीकृति लिनेहरूको दैनिक औसत संख्या ४६२ रहेको थियो । वैधानिकीकरण बाहेकका श्रम स्वीकृति लिनेहरूको दैनिक औसत संख्या २०७७ को पुस, माघ र फाल्गुणमा क्रमशः ५४८, ६६७ र ७३३ रह्यो। ०७६ का यिनै महिनाहरूमा श्रम स्वीकृति लिनेहरूको दैनिक औसत संख्या दोब्बरभन्दा बढी थियो। 

कोरोना महामारीको प्रभाव कम हुँदै गएपछि २०७७ को चैत महिनामा दैनिक औसत १ हजार १ सय ९५ पुग्यो, जुन उक्त वर्षकै उच्च थियो। २०७८ साल सुरु भएलगतै दैनिक श्रम स्वीकृतिको संख्या पुरानै लयमा फर्कने क्रममा थियो। तर, बिहीबारदेखि देशभरका विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएसँगै उक्त संख्या ओरालो लाग्ने क्रममा छ। 

देशको समग्र अर्थतन्त्र धराशायी भएको अवस्थामा वैदेशिक रोजगारमा जानेको संख्यामा कमी आउनु विप्रेषणमा आश्रित देशका लागि राम्रो मानिँदैन। 

वैदेशिक रोजगारमा जानेको संख्यामा आएको कमीले वैदेशिक मुद्राको सञ्चितिमा असर गर्ने अर्थशास्त्री प्रा.डा. चन्द्रमणि अधिकारीले बताएका छन्।  

‘हामीकहाँ अहिले वैदेशिक लगानी खासै छैन। कोरोनाका कारण पर्यटन क्षेत्र पनि सुकेको छ। यसै न्यून रहेको निर्यातलाई कोरोनाले झन् खस्काएको छ। वैदेशिक रोजगारमा जानेको संख्यामा कमी आउनुले विप्रेषणमा प्रभाव पर्छ। विदेशी मुद्राका यी सबै स्रोत कमजोर हुँदा वैदेशिक मुद्राको सञ्चिति घट्ने देखिन्छ,’ अधिकारीले भने । 

‘वैदेशिक मुद्रा घट्दा आयात गर्ने क्षमतामा, विशेषगरी स्वास्थ्य सामग्री किन्ने क्षमतामा असर पुग्न सक्छ,’ उनले भने। 

Logo