आलोपालो गर्दै बैंक तथा वित्तीय संस्थाहरू

आलोपालो गर्दै बैंक तथा वित्तीय संस्थाहरू

केन्द्रबिन्दु
0
Shares

कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंक तथा वित्तीय संस्थाले आलापालो गरी सेवा दिने भएका छन् । आजदेखि लागू हुने गरी नेपाल बैंक लिमिटेड हप्ताको तीन दिन र अन्य बैंक तथा बीमा कम्पनी आलापालो गरेर हप्ताको दुई दिन मात्र खुल्ने छन् । नेपाल बैंक लिमिटेडले आइतबार, मङ्गलबार र बिहीबार सेवा दिने जनाइएको छ ।

सदरमुकाममा २८ वाणिज्य, विकास बैंक र दर्जन बढी बीमा कम्पनी सेवारत छन् । न्यून कर्मचारीको उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सेवा सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बैंकर्स एशोसिएसन र वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलपछि आलोपालो र समयको निर्धारण गरेको हो। प्रभु बैंकले भने सरकारी कार्यालयसँग समन्वय गरी आवश्यकताअनुसार राजश्व काउण्टर सञ्चालन गर्ने जनाइएको छ।

सबै बैंक एकसाथ खुल्दा सेवाग्राहीको भीडभाड हुने र कोरोना सङ्क्रमणको जोखिम बढ्ने हुँदा आलोपालो गरेर बैंक खोल्ने निर्णय गरिएको बैंकर्स एशोसिएसनले जनाएको छ। एशोसिएसनले सेवा सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन सबै बैंकहरूलाई आग्रह गरेको छ।

बागलुङ नगरपालिकामा मङ्गलबारदेखि दश दिनसम्मलाई निषेधाज्ञा जारी गरिएको छ। स्थानीय प्रशासनले खाद्यान्न, तरकारी, फलफूल, दूध, मासुलगायत दैनिक उपभोग्य वस्तुका पसल पनि बिहान ७ देखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ। अन्य पसल, व्यवसाय बन्द छन्। अत्यावश्यकबाहेकका सवारीसाधन पनि ठप्प छन्।

कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएपछि निषेधाज्ञालाई थप कडा तुल्याइएको छ। जिल्ला प्रशासन कार्यालयले सवारी अनुमति पत्र पनि वितरण नगर्ने निर्णय गरेको छ। जिल्लाका अन्य स्थानीय तहमा पनि निषेधाज्ञा जारी गरिएको छ। कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० नाघेको छ। अधिकांश सङ्क्रमित होम आइसोलेशनमै रहेपनि गम्भीर लक्षण लिएर अस्पताल पुग्ने सङ्क्रमितको सङ्ख्या पनि दैनिक बढ्दो छ।रासस

Logo