आज अन्तर्राष्ट्रिय ९ वटा उडान: भारतबाट एयर इण्डियाको जहाजमार्फत ३८ जना नेपाल आए

आज अन्तर्राष्ट्रिय ९ वटा उडान: भारतबाट एयर इण्डियाको जहाजमार्फत ३८ जना नेपाल आए

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र रुपमा फैलिएसँगै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी रहेको छ। गत वैशाख १६ गतेदेखि २९ सम्म उपत्यकासहित ६० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ।

निषेधाज्ञामा अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द छन्। तर सरकारले हवाई  उडान खुल्ला राखे पनि संक्रमणको जोखिम बढेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय नियमित उडानसमेत बन्द भएको छ।

२२ गतेदेखि आन्तरिक उडान बन्द भए पनि बिहीबार रातिबाट नेपालमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता चन्द्रलाल कर्णका अनुसार शुक्रबार ९ वटा उडान–अवतरण हुने भएका छन्। 

९ उडानमध्ये तीन वटा जहाज बिहीबार राति विभिन्न गन्तव्यमा पुगेर काठमाडौं फर्कने तालिका रहेको छ । एउटा जहाज भारतबाट सरकारले तोकिएको उडानअनुसार आएको उनले बताए । उक्त उडानमार्फत आएका ३८ जनालाई सरकारले तोकेको होटल क्वारेन्टिनमा पठाइएको छ।

सरकारले भारततर्फका हप्तामा दुई उडान जारी राखेको छ। जसमध्ये बुधबार नेपाल एयरलाइन्सको जहाज भारत उडान हुने र शुक्रबार भारतको एयर इण्डिया नेपाल अवतरण गर्ने कार्यतालिका रहेको छ। सरकारको स्वीकृती अनुसार नै भारतको उडान खुल्ला राखिएको उनको भनाइ छ।

त्यस्तै, आज दुई जहाज भने कार्गो लिएर काठमाडौं आउँदैछन्। अर्को आज नै  साउदीको दमामबाट हिमालय एयरलाइन्सको जहाज काठमाडौं आएको छ । दोहाबाट नेपाल एयरलाइन्स आएको छ । जापानको नारिताबाट नेपाल एयरलाइन्स आउने तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ। 

त्यस्तै, हङकङबाट क्याथे प्यासिफिकका दुई जहाज कार्गो बोकेर काठमाडौं आउने छन् । हङकङ र दिल्लीबाट आएका यी जहाज आजै फर्कनेछन् । हिमालय एयरलाइन्सको जहाज कार्गो लिन आजै चीनको कुनमिङ जाने भएको छ।

आन्तरिक उडान बन्द भए चार्टड उडानमार्फत १८ वटा हेलिकोप्टर काठमाडौं आएको र २३ हेलिकोप्टर काठमाडौंबाट बाहिरिएको कार्यालयले जनाएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएपनि चार्टड, मेडिकल सामाग्री, इमर्जेन्सी तथा उद्धार उडान नियमित रहने नेपाल उड्डयन प्राधिकरणले जनाएको छ।

Skip This
Skip This
Logo