कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै मुलुकभर अक्सिजन अभाव भएको छ। संक्रमितको उपचारका लागि चाहिने अस्पताल बेड, अक्सिजन, र भेन्टिलेटरसमेत अभाव भएको छ।
शनिबार काठमाडौंका चार अस्पतालले अक्सिजन अभाव भएकाले कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने भन्दै विज्ञप्ति निकालेका छन्। मेडिकेयर अस्पताल, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टर र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले अक्सिजन ग्याँसको नियमित आपूर्ति तथा अक्सिजनको वैकल्पिक व्यवस्था गर्न असहज भएकाले कोरोना संक्रमित बिरामीलाई भर्ना गरेर उपचार निरन्तरता दिन नसकिएको जनाएका छन्।
उपत्यकाका अस्पतालमै यस्तो अवस्था आएकाले अब कोरोना संक्रमित बिरामीले अस्पतालमा अक्सिजन नपाएर अकालमै ज्यान गुमाउनुपर्ने स्थिति देखिएको छ।
यता, सरकारले शनिबारदेखि नै अक्सिजन ग्यास उत्पादकलाई सरकारको अनुमतिबिना सरकारी तथा निजी अस्पताललाई अक्सिजन नदिन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो अनुमतिबिना सरकारी तथा निजी अस्पताललाई अक्सिजन नदिनु भन्ने पत्र आएको अक्सिजन ग्याँस उत्पादक संघका अध्यक्ष गौरव सारडाले बताए। ‘अब हामी सरकारको अनुमतिबिना अक्सिजन ग्यास दिन सक्दैनौं,’ उनले भने।
अब अक्सिजन उत्पादकहरुले अस्पताललाई सिधै ग्याँस सप्लाइ नगर्ने अध्यक्ष सारडाको भनाइ छ। मुलुकका सबै ग्याँस उत्पादक प्लान्टबाट चौबिसै घन्टा उत्पादन जारी राखिएको उत्पादक संघले जनाएको छ। ‘अब सरकारले सिलिन्डर कसरी व्यवस्थापन गर्छ भन्ने हो, सरकारसँग भर पर्नुको विकल्प छैन,’ सारडाले भने।
त्यस्तै, अर्को अक्सिजन ग्याँस उद्योगी वीरेन्द्रकुमार संघाइले सरकारले निजी क्षेत्रलाई विश्वास नगर्दा यस्तो समस्या देखा परेको बताए। उद्योगीले अहिले सबै प्लान्टहरुबाट चौबिसै घन्टा उत्पादन जारी राखेका छन्। उनले भने,‘अस्पतालमा अक्सिजनको अभाव हुनुको मुख्य कारण भनेकै सिलिन्डर अभाव हो। सरकारले तत्काल सिलिन्डर व्यवस्था नगरे स्थिति भयावह हुनसक्छ।’
नेपालमा रहेका सबै अक्सिजन उत्पादन प्लान्ट शतप्रतिशत नै सञ्चालनमा आएका छन्। सामान्य अवस्थामा २५ प्रतिशत मात्र सञ्चालनमा रहेका थिए।
सरकारले मात्र सिलिन्डर ल्याउनसक्ने भएकाले तत्काल चीनबाट ल्याउनुपर्ने उनको भनाइ छ। सरकारले बजारबाट सिलिन्डर उठाइ अस्पताललाई बाँडेर गलत गरेको उनले बताए।
अस्पताललाई खाली सिलिन्डर दिँदा समस्या बल्झिएको छ। उद्योगलाई दिएको भए त्यसलाई भरेर समयमै आपूर्ति गर्न सकिने संघाइको भनाइ छ। सरकारले तत्काल चीनबाट पोर्टेबल अक्सिजन ल्यायो भने समस्या हुने देखिन्छ।
सिलिन्डर र पोर्टेबल अक्सिजन ल्याउन निजी क्षेत्र तयार रहे पनि प्रक्रिया पूरा गरेर ल्याउन तीन महिना लाग्ने उनी बताउँछन्। केही दिनअघि व्यवसायीले नै सिलिन्डर घरघरमा थुप्रिएकाले अक्सिजनको अभाव भयो भन्दै घरमा सिलिन्डर नराख्न अनुरोध गरेका थिए। अहिले सरकारले प्रहरी परिचालन गरेर विभिन्न उद्योगबाट सिलिन्डर उठाउँदै अस्पताललाई दिँदै आएको छ।
कति छन् अक्सिजन ग्याँस उद्योग?
अक्सिजन व्यवसायी संघले दिएको जानकारी अनुसार नेपालमा २४ वटा ठूला अक्सिजन उत्पादक उद्योग रहेका छन्। अहिले काठमाडौंलगायत बाहिरका अस्पतालमै अक्सिजन प्लान्ट जडान गरिएका छन्।
कोरोनाको दोस्रा तरंग फैलिएपछि काठमाडौंमा नेपाल आर्मी, नेपाल पुलिस र गंगालाल अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरिएको छ। उपत्यकामा ११ अक्सिजन उत्पादन गर्ने उद्योग सञ्चालनमा रहेका छन् भने उपत्यकाबाहिर १३ वटा उद्योग छन्।
अहिले कान्तिपुर अक्सिजन प्रालि, सगरमाथा अक्सिजन प्रालि, अक्सिटेक अक्सिजन प्रालि, नवज्योति अक्सिजन प्रालि, हाम्रो अक्सिजन प्रालि, सोपान फर्मास्युटिकल्स प्रालि, हिमाल अक्सिजन प्रालि, सीता अक्सिजन प्रालि, शंकर अक्सिजन प्रालिलगायत उद्योगबाट २४ घन्टा नै अक्सिजन उत्पादन भइरहेको छ।
सरकार र उद्योगीसँगै सिलिन्डरको तथ्यांक छैन
नेपालमा कति सिलिन्डर छन् भन्ने यकिन तथ्यांक सरकार र अक्सिजन उत्पादक संघसँग छैन। केही अक्सिजन प्लान्टको मात्रै तथ्यांक उपलब्ध रहेको बाँकी सबै तथ्यांक सबै निकायलाई जानकारी दिएको अध्यक्ष सारडा बताउँछन्।
सरकारले सिलिन्डर अभावकै कारण अक्सिजन अभाव हुन नदिन चीनबाट २० हजार खाली अक्सिजन सिलिन्डर ल्याउने जनाएको छ। सरकारले यसका लागि पहिलो चरणमा ४ सय खाली सिलिन्डर ल्याउन वैशाख २७ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन पठाउने तयारी गरेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकभर अहिले अक्सिजन सिलिन्डरको संख्या ६ हजार २ सय ८८ रहेको जनाएको छ। त्यस्तै, पछिल्लो समय नेपालमा दैनिक १ हजार ४ सय ११.५ लिटर अक्सिजन ग्यास खपत भइरहेको मन्त्रालयको भनाइ छ।
कति पर्छ एउटा सिलिण्डर अक्सिजनलाई?
अहिले बजारमा घरमा राख्न मिल्ने ग्यास सिलिन्डरको मूल्य ८ हजारदेखि १३ हजारसम्म पर्छ। तर, सिलिन्डरको क्षमताअनुसार बजार मूल्य फरक–फरक रहेको संघले जनाएको छ।
क्रसर उद्योगी, जलविद्युत उत्पादक र ग्रील व्यवसायीले आफूसँग भएका अक्सिजन सिलिन्डर सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन्। सिलिन्डर अभावले कोरोना संक्रमितले ज्यान गुमाउन थालेपछि उद्योगी/व्यवसायीले आफ्नो उद्योगमा प्रयोग हुने अक्सिजन सिलिन्डर सरकारलाई दिने घोषणा गरेका हुन्।
नेपाल क्रसर तथा खानी उद्योग महासंघले एक विज्ञप्ति जारी गर्दै कोरोनाले नित्याएको विपद्को यो घडीमा आफ्नो उद्योगसँग रहेका सबै अक्सिजन सिलिन्डर स्थानीय सरकारमार्फत नेपाल सरकारलाई उपलब्ध गराउन आह्वान गरेको छ।
महासंघका अनुसार देशभर रहेका ६ सय क्रसर उद्योगबाट करिब ३ हजारदेखि ३५ सयसम्म सिलिन्डर जम्मा गरेर सरकारलाई दिने तयारी गरिएको छ।
त्यस्तै, नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले ग्रिल उद्योगमा रहेका अक्सिजन सिलिन्डर धमाधम बुझाइरहेको बताए। उनका अनुसार अहिले साना ग्रिल उद्योगमा १ सय ५० को हाराहारीमा सिलिन्डर छन्। ठूला उद्योगमा भने १ हजारदेखि १ हजार २ सय हाराहारी सिलिन्डर रहेको महासंघको अनुमान छ।
त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)ले पनि महामारीमा जीवनरक्षाका लागि जलविद्युत आयोजनाका वर्कसपमा रहेका अक्सिजन सिलिन्डर उपलब्ध गराउन जलविद्युत आयोजनालाई निर्देशन दिएको छ।































प्रतिक्रिया