ठेकेदार सम्पर्कविहीन, बत्ती बाल्ने आशमा बित्यो तीन वर्ष

ठेकेदार सम्पर्कविहीन, बत्ती बाल्ने आशमा बित्यो तीन वर्ष

केन्द्रबिन्दु
0
Shares

हुम्ला।

हुम्लाको सिमकोट गाउँपालिका वडा नं ८ स्याँडाका नागरिकलाई ठेकेदारले बत्ती बाल्ने सपना देखाएको तीन वर्ष बितेको छ । लामो समयदेखि ठेकेदारको चरम लापरवाहीका कारण हालसम्म पनि बत्ती नबलेपछि स्याँडा गाउँका २४७ घरधुरी अन्धकारमा बस्न बाध्य छन् ।

बिजुली बाल्ने बहानामा ठेकेदार तेजबहादुर महतले स्थानीयवासीलाई बिजुलीका खम्बा बोकाएर ज्याला भने हालसम्म नदिएको वडाध्यक्ष चक्र बुढाले बताए । गाउँ नजिकको अर्को गाउँ माजसम्म बिजुलीका ३५ खम्बा पुगेको र ठेकेदार महतले जम्मा ८० हजार निकासा दिई बाँकी नदिएर सम्पर्कमा नआएको जनाइएको छ ।

गाउँमा बत्ती बाल्नका लागि वडा नं ८ स्याँडा कार्यालयले रु आठ लाख छुट्टयाएको भएतापनि सदुपयोग नभएर खेर गएको छ । कार्यालयले गाउँबासीलाई निशुल्क मिटरबक्स दिनका लागि रु आठ लाख छुट्याए पनि रु चार लाख खम्बामा खर्च भएको र रु चार लाख उपभोक्ताका खातामा बाँकी छ कि खर्च भयो भन्ने थाहा नभएको वडाध्यक्ष बुढाले बताए ।

विसं २०७४ मा हिल्दुम साना जलविद्युत् आयोजना बिजुली पुर्याउने प्रक्रियामा लागे तापनि तीन वर्ष बिति सक्दा पनि बिजुली नबलेको स्थानीयवासीले गुनासो गरेका छन् । विसं २०७५ मा पूर्वगाविस सचिवको कार्यकालमा स्याँडा गाउँलाई बत्ती बाल्ने भनेर रकम छुट्याइए पनि ठेक्काको जिम्मा लिएका ठेकेदारले काम पूरा गर्न नसकेको स्थानीयवासीले बताएका छन् ।

दुवै क्षेत्रबाट सो रकम उपलब्ध नहुँदा सोही गाउँका ज्याला मजदूरी गर्ने व्यक्तिले सो रकम नपाएको स्थानीयवासी किरण बुढाले गुनासो गरे । स्थानीय बुढाका अनुसार त्यतिबेला सिमकोटको लाक्नाबाट १२ स्थानीयवासीले २० खम्बा बोेकेर गाउँ पुर्याएका थिए । “ठेकेदारको चरम लापरवाहीका कारण गाउँमा नत बत्ती बल्न सक्यो, न त काम गरेको ज्याला नै पाइयो”, किरणले भने ।

बेलाबेलामा ठेकेदारलाई सम्पर्क गर्न खोज्दा ठेकेदारले फोन रिसिभ नगरेको उनको गुनासो छ । अहिले स्याँडा गाउँ बत्ती नबल्दा अन्धकारमय बनेको छ । खम्बा ओसारेका १२ कामदारले करीब रु पाँच लाख बराबर ज्याला पनि पाएका छैनन् । यतिखेर सो ठाउँका लागि राखिएका तार र खम्बा पनि बीचैमा लथालिङ्ग छन् ।

सम्बन्धित ठेकेदारलाई पुनः एक पटक अनुरोध गर्ने तर नमानेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजूरी दिइने किरणले चेतावनी दिए। यस विषयमा कुरा गर्न खोज्दा ठेकेदार महतसँग सम्पर्क हुन सकेन ।रासस

Skip This
Skip This
Logo