कोरोना महामारीको दोस्रो लहर नेपालमा तीव्र रुपमा फैलिएसँगै काठमाडौं उपत्यका लगायत प्रायः सबै जिल्लामा निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञा जारी भएको दुई साता पुरा भएको छ। तर कोरोना संक्रमणदर भने बढ्दै गएको छ।
देशैभर अक्सिजनको हाहाकार मच्चिएको छ। अस्पतालहरुमा अक्सिजनको हाहाकार भएकाले कतिपय संक्रमितहरुले अक्सिजन नपाएर ज्यानसमेत गुमाइरहेको अवस्था छ। अक्सिजन हाहाकार हुँदासमेत सरकारले यसको उचित व्यवस्थापन गर्न सकेको छैन। अब सरकारको मात्रै मुख ताकेर नहुने भन्दै निजी क्षेत्र आफैं संक्रमितका लागि अत्यावश्यक अक्सिजनको व्यवस्थापन गर्न जुटेको छ।
देशैभर अक्सिजनको हाहाकार भएको र अक्सिजनबिना कोरोना संक्रमितले ज्यान गुमाउनु पर्ने अवस्थाको सिर्जना भएको भन्दै एभरेष्ट ग्यास ग्रुपका अध्यक्ष तथा व्यवसायी शिवप्रसाद घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर, अक्सिजन व्याग, अक्सिजन मास्क लगायतका स्वास्थ्य सामाग्री ल्याउन लागेका छन्।
ग्रुप अन्तर्गतका दुई कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि र एभरेष्ट ग्यास उद्योग प्रालिमार्फत चीनबाट ल्याउन लागेको अक्सिजन सिलिण्डर लगायत कोरोना संक्रमितको लागि आवश्यक स्वास्थ्य सामग्री ७ दिनभित्रै आइपुग्ने अध्यक्ष घिमिरेले केन्द्रबिन्दुलाई जानकारी दिए।
उनका अनुसार केही सामान सोमबार नै काठमाडौं आइपुग्ने भएको छ । सोमबार पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग तथा ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर हवाई मार्गबाट काठमाडौं आइपुग्ने बताएका छन्।
यस्तै, अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २ हजार २५० युनिट जेठ ७ गतेभित्र स्थलमार्गबाट नेपाल आउने घिमिरे बताउँछन्।
कोरोना महामारीका कारण नेपालमा अक्सिजन लगायतका सामानहरु अभाव भएकाले सरकारको मात्रै भर परेर बस्न नहुने र आफ्नो स्थानबाट जे सकिन्छ त्यो मानिसको जीवन बचाउनको लागि गर्नु पर्ने अवस्था आएको छ । यस्तो अवस्थामा अस्पतालहरुमा अक्सिजनको अभाव भयावह भएको छ । अध्यक्ष घिमिरेले भने,‘ सकेसम्म सातै प्रदेशमा केही सामान पुर्याउने उद्देश्यले करिव १० करोडको लागतमा सामान आउन लागेको छ।’
चीनबाट सामान काठमाडौंमा आएपछि यो महामारीको बेलामा कुनै मुनाफाभन्दा पनि लागत मूल्यमा सामान आवश्यकताका आधारमा अस्पताल तथा व्यक्ति दुबैलाई उपलब्ध गराइने उनले बताए । ‘यति ठूलो महामारीमा हामी सबै व्यवसायीले विदेशमा आफ्नो नेटवर्कमार्फत अक्सिजनलगायतका अत्यावश्यकीय स्वास्थ्य सामग्री नेपालमा ल्याउनु आवश्यक देखेर संकटको घडीमा सानो राहत होस भनेर यो प्रयास गरिएका हो, उनले भने ।
अक्सिजन ब्यागको उपयोगिता यातायातको पहुँच नपुगेका क्षेत्रमा तत्काल अस्पताल पुर्याउनु पर्ने संक्रमितका लागि गर्न सकिने जनाइएको छ। अन्य मुलुकमा यस्तो व्याग आपतकालिन उपचारका लागि प्रभावकारी सावित हुँदै आएको छ।
पछिल्लो समय नेपाल सरकारले अस्पतालहरुमा अक्सिजनको व्यवस्थापन गर्न नसक्दा यस्तो समस्या आएको पनि बताए । उनले उत्पादन नै कम रहेको पनि बताए । अहिले नेपालमा उत्पादन क्षमताभन्दा माग बढी भएकाले यो समस्या आएको हो ।
उत्पादन गर्ने उद्योग पनि सिमित भएकाले अहिले भएका उद्योगबाट उत्पादन भएको अक्सिजनले माग पुरा गर्न नसकेको उनले बताए । अब अहिलेकै परिस्थिती रहिरहे अहिलेको भन्दा बढी भयावह हुनसक्छ । किनकि अहिले भएका सबै सिमित सिलिण्डरहरु धेरैतिर छरिने भएकाले अवस्था जटिल बन्दै जाने उनको भनाइ छ। त्यसैले पनि अहिले नै निजी क्षेत्रका पहुँच भएका व्यववसायीहरुले सकेजति अक्सिजन सिलिण्डर लगायत स्वास्थ्य सामाग्री ल्याएर मानिसको ज्यान बचाउन लाग्नु पर्ने उनी बताउँछन्।





























प्रतिक्रिया