नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ।
यस बारेमा मंगलबार नबिल बैंक र वीर अस्पतालवीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्नेछ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने छ।
कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिदै जाँदा अस्पतालमा विरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परिरहेको अहिलेको विषम परिस्थितिमा नबिल बैंकले सरकारलाई सहयोग गरेको हो । यो प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै बिरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास लिएको छ।
नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड महामारीको शुरुवाती समयदेखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ। चालु आर्थिक वर्षमा कोभिड १९ को प्रतिकार्यका लागि नबिल बैंकले नेपाल सरकारलाई ६ करोड नगद सहयोग गरेको छ। त्यसैगरि नबिल बैंकले सरकारी तथा विपदमा काम गरेका विभिन्न संस्थासँग समेत साझेदारी सुरु गरेको थियो। जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गरी नेपालका सातै वटै प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्व तयारी सम्बन्धी अभिमुखिकरण सम्पन्न भएको छ। यस अन्तर्गत चालु आर्थिक वर्षमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण दिइएको छ।
त्यस्तै बैंकले अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्न वीर अस्पतालसँग सम्झौता गरेको छ। वीर अस्पतालमा अक्सिजन प्लान्टसँगै केहि अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बैंकले थप प्रकिया अगाडि बढाइसकेको छ। यो सबै गरेर बैंकले कोरोना रोकथाम र नियन्त्रणमा लगभग रु ८ करोडको सहयोग प्रदान गर्ने भएको छ ।
विपद् सम्बन्धीको विश्वव्यापी दस्तावेज सेन्डाइ कार्य ढाँचाले समेत विपद् जोखिम न्यूनिकरणमा निजि क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्नु पर्ने व्यवस्था गरेको र नेपाल सरकारले पनि विपद् व्यवस्थापनमा निजि क्षेत्रको संलग्नतालाई अपरिहार्य ठानेको सन्दर्भमा नबिल बैंकले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापन पनि बहुपक्षीय साझेदारीमा निजि क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ भन्ने कुरालाई दृष्टिगत गर्दै सरकारसँग यस किसिमको साझेदारी गरेको हो।





























प्रतिक्रिया