एनसेलद्वारा सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

एनसेलद्वारा सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

केन्द्रबिन्दु
0
Shares

एनसेल आजियाटा लिमिटेडले कोरोना भाइरस रोग (कोभिड १९) को संक्रमणले ल्याएको महामारीको जोखिम कम गर्न सरकारलाई सहयोग गर्दै आफूले हस्तान्तरण गर्ने १५० थान भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्स मध्ये पहिलोलट शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

कोभिड–१९ विरुद्घ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले १५० थान भन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । कोरोना भाइरस रोगबाट संक्रमित बिरामीहरु जसको रगतमा अक्सिजन लेबल कम हुन्छ त्यस्ता बिरामीहरुका लागि अक्सिजन एक आधारभूत मेडिकल आवश्यकता हो। 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपिरहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिने छन्।

“एनसेलबाट आएको यो अक्सिजन कन्सन्ट्रेटर्स सहयोगको हामी कदर गर्दछौं। अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितीमा यी कन्सन्ट्रेटर्सले जीवन बचाउन एकदमै ठूलो महत्व राख्दछ ।” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत आएको यो सहयोगले गम्भीर बिरामी भई श्वासप्रश्वास प्रणालीमा समस्या झेलिरहका मानिसको जीवन बचाउन योगदान दिनेछ र साथै जिल्लास्तरका अस्पतालहरुको चिकित्सा पुर्वाधार विकासमा सहयोग पुर्याउने छ।”

एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, “देशका जनताहरुलाई सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिदैं यस महामारीको समयमा अमुल्य जीवन बचाउन सहयोग पुर्याउने हेतुले हामी अस्पतालहरुलाई १५० थान भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्दैछौं । एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा महामारी सुरु भए लगतै गत वर्ष हामीले सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान गर्यौं । कोभिड प्रतिकार्य अन्तर्गत नै हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि शुरु गरिसकेका छौं । यसले चौबीसै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेसन बसेका सबैलाई दिनहँु स्वास्थ्य परामर्श प्रदान गर्दछ।” 

एनसेल कोभिड–१९ हटलाइन सेवा ९८०५५५४५०० मा फोनगरि कोरोना भाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा भए हटलाइनमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क स्वास्थ्य परामर्श लिन सकिने कम्पनीले जनाएको छ। 

Logo