ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन्। आज बिहान ८ः५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए।
दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका थिए । सोनाम आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए भने पिके गत वैशाख २४ गते अनुमति पत्र लिएर गएका थिए। मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको पौडेलले बताए।
यता पर्यटन विभागले समेत उनीहरुले आरोहण गरेको सूचना आएको जनाएको छ। “पिके शेर्पा र उहाँका छोरा दुवैले आरोहण गरेको भन्ने बेस क्याम्प र त्यस माथिबाट हामीलाई सूचना आएको छ”, पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले भनिन्। उनका अनुसार एक्सपिडिशन रिपोर्ट आएपछि विभागले छानबिन गर्ने र आरोहण पुष्टि भए आधिकारिकता प्रदान गरिने छ।
यस्तै सोनाम सबैभन्दा कान्छो आरोही हुन सक्ने आचार्यको भनाइ छ। अहिले नै यसै हो भनेर भन्न नसकिने उनले स्पष्ट पारिन् । “१६ वर्ष मुनिकाले आरोहण गर्न पाउँदैनन्, उहाँ १६ वर्ष पूरा भएर आउनुभएको थियो, पूर्णरुपमा डकुमेन्ट हेरेर छानबिनपछि मात्र भन्न सकिन्छ”, आचार्यले भनिन्।
विसं २०६१ फागनु १५ गते जन्मिएका शेर्पाले गत चैत २६ गते मात्रै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।
कसरी सुरु भयो पिकेको सगरमाथा आरोहण ?
ताप्लेजुङ मैवाखोलाका पिके सानै उमेरदेखि नै घर वरिपरि बगैंचा विस्तार र सरसफाइमा खप्पिस खटिन्थे। अहिले उनले हिमाली क्षेत्रको सरसफाइ तथा संरक्षण अभियानकर्मीको पहिचान बनाएका छन्।
आजसम्म हिमाली क्षेत्रको सरसफाइ र संरक्षणका लागि उत्तिकै सक्रिय पर्यटन व्यवसायी शेर्पा फोहोरको बोरा काँधमा हालेर हिमालका काखमा घुम्ने र राष्ट्रिय÷अन्तर्राष्ट्रिय मञ्चमा गएर विश्व समुदायलाई झक्झकाउने पनि गर्छन् ।
२०५२ सालमा काठमाडौं आएका पिके त्यसपछि पर्यटकको भारी बोकेर हिमालतिर जान थालेका हुन् । शेर्पा विदेशी पर्यटकको भारी बोकेर सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, मुक्तिनाथ, लाङटाङ लगायतका विभिन्न स्थानमा पुगिसकेका छन्।
उनीसँग विभिन्न आरोहणमा सम्पर्क अधिकृतसम्मको अनुभव छ । शेर्पाले एकदशक अघि सगरमाथामा सरसफाइ अभियान पनि चलाएका थिए। उनको अभियानमा हिमालयन गाईड्स नेपाल ट्रेक्स एण्ड एक्स्पेडिशन प्रालिले साथ र सहयोग गर्दै आइरहेको छ।





























प्रतिक्रिया