पछिल्लो समय कोरोना प्रभाव तीव्र बनेसँगै देशका सबैजसो जिल्ला यतिबेला लकडाउनमा छन् । विगत १ महिनादेखिको लकडाउनले सामान्य आर्थिक अवस्था भएका मजदुर वर्ग समस्यामा छन् । यस्तै समस्यामा रहेका करिब २ हजार मजदुर परिवारलाई एशियन थाई फुड्स, सोनापुर सुनसरीले राहत वितरण गरेको छ ।
बन्दाबन्दीको मारमा परेका सुनसरी, मोरङ्ग औद्योगिक क्षेत्रभित्रका कामदारलाई उक्त राहत सामग्री उपलब्ध गराइएको हो ।
एशियन थाई फुड्सका निर्देशक राधेश्याम सारडाका अनुसार प्रति परिवारलाई ४, ५ दिनसम्म पुग्ने गरि चामल, दाल, खानेतेल, नुन, चाउचाउ, बिस्कुट, मस्यौरा, मास्कलगायत राहत सामग्री उपलब्ध गराइएको हो ।
एशियन थाई फुड्सले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । कम्पनीका अनुसार करिब २५ लाख बराबरका राहत सामाग्री वितरण गरिएको छ ।
नेपाल उद्योग परिसंघको समन्वयमा उक्त राहत उपलब्ध गराइएको हो । राहत वितरण कार्यक्रममा परिसंघका अध्यक्ष भीम घिमिरे, एशियन थाई फुड्सका प्रशासकीय अधिकृत प्रकाशराज श्रेष्ठ, उत्पादन व्यवस्थापक समीर श्रेष्ठ, कम्पनी प्रतिनिधि हरि चौधरी, दुहवी नगरपालिका वडा नं २, ८, ९, १० र ११ का वडाध्यक्षहरूको उपस्थिति थियो।
अहिलेको कठिन परिस्थितिमा कतिपय कामदार भोकले पीडित हुने अवस्था आएकोले कम्पनी जनताको समस्या समाधान गर्न तयार रहेको कम्पनीका प्रवन्ध निर्देशक महेश जाजुले बताए।
राहत वितरणमा सहयोग गरेको भन्दै उपस्थित सबै जनप्रतिनिधिले एशियन थाई फुड्सलाई धन्यवाद पनि दिएका थिए। एशियन थाई फुड्स रमपम तयारी चाउचाउको उत्पादक कम्पनी हो ।
.jpg)





























प्रतिक्रिया