सुनकोशीको बाढीले बगायो निर्माणाधीन पुल, ६ करोडको क्षति

सुनकोशीको बाढीले बगायो निर्माणाधीन पुल, ६ करोडको क्षति

केन्द्रबिन्दु
0
Shares

सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ। चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने पुल बगेको हो। 

करीब २३ करोड लागतमा चुँदी कन्ट्रक्सन प्रालि सानेपाले पुल निर्माणको ठेक्का लिएको थियो। कुल २१० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो। बुधबार मात्रै ढलान गरिएको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ। निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल निर्माणको काम पछिल्लो समय तीव्र बनाइएको थियो। 

वर्षामा बाढीको त्रास हुने भएकाले त्यस अगावै सक्ने गरी काम अघि बढाइए पनि ढलान सकेको केही घण्टामा बाढीले पुल बगाएको निर्माण कम्पनीका प्रतिनिधि मदन माझीले बताए। उनका अनुसार यो पुल नयाँ टेक्नोलोजी अन्तर्गतको केवल ब्रिज हो। उक्त प्रविधिबाट बनेको पुलमा ढलान सकिएपछि केवल तान्ने तयारी थियो। केवल तान्न नपाउँदै बाढीले बगाएको माझी बताउँछन्।

 ‘यो नेपालमा नयाँ प्रविधिबाट बन्दै गरेको पुल हो। केवल ब्रिज बनाउँदा ढलान सकेको १४ दिनसम्म केवल तान्नुपर्ने हुन्छ तर ढलान सकेको केही घण्टामै बाढीले बगायो।’ माझीले भने, ‘गुणस्तरीय काम गर्दागर्दै प्रकृतिले साथ नदिँदा ४० मिटर स्ल्याब भत्कियो। निकै ठूलो क्षति भयो।’ माझीका अनुसार करीब ६ करोड बराबरको क्षति भएको छ। 

निर्माणाधीन पुल बाढीले बगाएर यस क्षेत्रको भौतिक विकासको गुणस्तरता कमजोर रहेको संकेत गरेको सिन्धुली फिक्कल गाउँपालिका २ का वडाध्यक्ष शंकर भण्डारीले बताए। ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले निर्माण कम्पनीले आफूहरुसँग कुनै समन्वय नगरेको बताए।

सडक डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख अरुणकुमार लाल कर्णले आफ्नो कार्यक्षेत्रमा उक्त आयोजना नपर्ने बताए। ढलानमा दिइएको सपोर्टले लोड धान्न नसकेर क्षति भएको हुन सक्ने उनको भनाइ छ ।रासस

Logo