काठमाडौं ।
बीमा समितिले निरन्तर रुपमा कोरोना बीमा बापतको भुक्तानी भइरहेको जनाएको छ । सरकारले गत भदौ २९ गते संशोधन गरेको कोरोना बीमा सम्बन्धी कार्यविधीका कारण केही समस्या आएको दाबी भूक्तानी अहिले निर्वाध रुपमा भइरहेको जनाएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल अहिले भूक्तानीमा कुनै समस्या नआएको बताउँछन् । कार्यकारी निर्देशक पौडेलले भने–‘बीमा कम्पनिहरुले निर्वाध रुपमा भूक्तानी गरिरहेका छन् ।’
यस्तो थियो दाबी भुक्तानीमा समस्या
बीमा समितिले गत भदौ २९ गते कोरोना बीमा निर्देशिका संशोधन गरेको थियो । त्यसभन्दा अघिसम्म दाबी भुक्तानीका लागि कोरोना भाइरसको रिपोर्ट सरकारी ल्याबमा नै परीक्षण गरिएको हुनुपर्ने भनिएको थियो । सरकारी निकायबाट सञ्चालनको अनुमति लिएका निजी ल्याबमा गरिएको परीक्षणलाई समितिले मान्यता नदिँदा त्यसको चर्काे विरोध भएको थियो । त्यसपछि समितिले अनुमति पाएका निजी ल्याबमा गरिएको परीक्षणलाई पनि मान्यता दिने गरी निर्णय ग¥यो । तर बीमा कम्पनीहरुले भने त्यो मान्यतालाई कार्यान्वयन गरेका थिएनन् ।
समितिले कोरोना बीमा निर्देशिका संशोधन गर्नु अगाबै जुन ल्याबबाट आएको परीक्षणलाई पनि मान्यता दिएको थियो । त्यसैको आधारमा मात्र दाबी भुक्तानी भइरहेको थियो । सबै कम्पनीहरुले सरकारी ल्याबमा भएका परीक्षणको दाबीलाई सहजै भुक्तान गर्ने र त्यसबाहेक निजी ल्याबमा गरिएको परीक्षण रिपोर्ट आएको खण्डमा पुलमा पठाउने गरिएको थियो । पुलमार्फत भुक्तानी गर्दा प्रक्रिया केही लामो हुने हुन्छ ।
समितिले गरेको सुरुको व्यवस्था अनुसार पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएपछि जति रकमको बीमा गरिएको हो, त्यति नै प्राप्त गर्न सकिन्छ । अर्थात मानौ १ लाखको बीमा गरेको छ भने बीमितले १ लाख नै प्राप्त गर्न सक्छ । सो रकमले २०/२२ दिनसम्म आइसोलसनमा बस्दा हुने आर्थिक खर्च टार्न सकिन्छ । समितिले गरेको पछिल्लो व्यवस्थाअनुसार कूल बीमा रकमको २५ प्रतिशत राहत स्वरुप उपलब्ध गराउने व्यवस्था छ ।
त्यस्तै, अरु रकम उपलब्ध गराउँदा उपचार गर्दा कति खर्च लाग्यो भन्ने डाक्टरले लेखेको पर्चीको आधारमा रकम उपलब्ध गराउने व्यवस्था छ । मानौ कुनै व्यक्तिले १ लाखको बीमा गरेको छ भने उसले राहत स्वरुप २५ हजार रुपैयाँ मात्रै पाउँछ । अरु रकम डाक्टरले उपचार गरेको पर्चीका आधारमा प्राप्त गर्न सक्छ । कोरोना बीमा ५० हजार र १ लाख रुपैयाँ गरी दुई प्रकारका रहेका छन् । ५० हजार रुपैयाँको कोरोना बीमा गर्ने व्यक्तिले ५ सय रुपैयाँ बीमा शुल्क (प्रिमियम) तिर्नुपर्छ भने १ लाख रुपैयाँको बीमा गर्नेले १ हजार तिर्नुपर्छ ।
परिवारकै बीमा गर्दा भने छुट हुन्छ । दुईभन्दा बढी सदस्य रहेको परिवारले ५० हजारको कोरोना बीमा गर्दा प्रिमियम प्रति सदस्य ३ सय रूपैयाँ लाग्छ भने १ लाखको गर्न ६ सय रूपैयाँ लाग्छ । सो रकममा २० रुपैयाँ विविध शुल्क थपिन्छ । अहिले तिरेको यो शुल्कले चैत मसान्तसम्म मात्रै बीमा दाबी गर्न पाइन्छ । साथै, सरकारले वडा तथा नगरपालिकाको सिफारिसमा ५० प्रतिशत राहत रुपमा छुट दिने व्यवस्था पनि गरेको छ । कोरोना बीमा गरेको दिनदेखि १५ दिनसम्म भने दाबी गर्न पाइँदैन । बीमा स्वीकृत भएको १५ दिनपछि यो वर्ष चैत मसान्तसम्म मात्रै कोरोना पुष्टि भएमा बीमा रकमका लागि दाबी गर्न सकिने व्यवस्था छ ।
कति भएको छ दाबी भूक्तानी ?
हालसम्म ८ हजार ७ दाबी परेको छ । १ हजार १ सय दाबीको भुक्तानी भइसकेको छ । प्रिमियम ८३ करोड रहेको बीमक संघले जनाएको छ । गत असोज २० गतेसम्म कोरोना बीमा गराउनेको संख्या १४ लाख १ हजार ६ सय ९ पुगेको छ । बीमिलाई प्रतिव्यक्ति १ लाख रुपैयाँको दरले दाबी भुक्तानी १ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गर्नुपर्नेछ ।
पोलिसी परिवर्तन हुनुअघि साढे ३ अर्बको दायित्व सृजना भएको थियो, यस्तो रकममध्ये साढे १ अर्ब बीमा कम्पनीहरुले, १ अर्ब रुपैयाँ पुनर्बीमा कम्पनी र १ अर्ब रुपैयाँ बीमा समितिले व्यहोर्नुपर्ने व्यवस्था छ ।
कसरी गर्ने कोरोना बीमा ?
हाल सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरूबाट कोरोना बीमा गर्न सकिन्छ । अजोड, राष्ट्रिय बीमा कम्पनी, एभरेष्ट, सानिमा, शिखर, सिद्धार्थ जनरल, हिमालयन, नेको, नेपाल, एनएलजी, ओरियन्टल, प्रभु, प्रिमियर, प्रुडेन्सियल, आइएमई जनरल, लुम्बिनी, नेसनल, सगरमाथा तथा युनाइटेड इन्स्योरेन्सका जुनसुकै शाखाबाट बीमा गर्न सकिने व्यवस्था छ । कोरोना बीमा गर्दा आफ्नो नागरिकता र त्यसको प्रतिलिपि बीमा कम्पनीलाई पेश गराउनुपर्छ । परिवारका सदस्यको गर्दा पनि सबैको नागरिकता प्रतिलिपि नै बुझाउनुपर्छ ।
के हो कोरोना बीमा ?
कोरोना भाइरसको जोखिम बढेपछि सबै बीमा कम्पनीहरु मिलेर सामूहिक रुपमा जोखिम बहन गर्ने गरी सामाजिक सेवाको उद्देश्यका साथ बीमा समितिले सुरु गरेको एक प्रकारको लघु बीमा योजना हो । यो बीमा योजना स्वास्थ्य उपचार बीमा होइन । यो महामारीमा न्यूनतम शुल्कमा जनतालाई राहत दिन ल्याइएको बीमा योजना हो । जन्मेको तीन महिनादेखि ९९ वर्षसम्मका मानिसको कोरोना बीमा गर्न सकिन्छ । कोरोना बीमाको अण्डरराईटिङ हुँदैन । अण्डरराईटिङ आवश्यक नपर्ने भएकाले यस्तो बीमा पोलिसि अनलाइनबाट सिधैं भुक्तानी गरी खरिद गर्न सकिन्छ ।
यसरी हुन्छ कोरोना बीमाको भुक्तानी
कोरोना बीमाको भुक्तानी प्राप्त गर्न नेपाल सरकारको मान्यता प्राप्त कुनै पनि जनस्वास्थ्य ल्याबमा कोरोना भाइरसको वैज्ञानिक परीक्षण पीसीआर (पोलिमर चेन रियाक्सन) विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो भने त्यो व्यक्ति कोरोना बीमाको भुक्तानीका लागि योग्य हुन्छ । कोरोना पोजेटिभ भएको मितिले १५ दिनभित्र यस्तो भुक्तानी प्राप्त गर्न सकिन्छ । सिधैं कम्पनीमा सम्पर्क गरेर दाबी भुक्तानी लिन सकिन्छ भने बीमा गरिएको व्यक्तिको पीसीआर रिपोर्ट इमेलमार्फत पठाए पनि बीमा कम्पनीले बीमितको बैंक खातामा सिधैं रकम पठाउने व्यवस्था गरिएको हुन्छ ।































प्रतिक्रिया