सेनाको अगुवाइमा हिमालबाट २८ हजार केजी फोहोर सङ्कलन

सेनाको अगुवाइमा हिमालबाट २८ हजार केजी फोहोर सङ्कलन

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा संलग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा  प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उनीहरुलाई कदरपत्र प्रदान गरेका थिए। सेनाको अगुवाइमा सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, मकालु, धवलागिरी, पुमोरी र आमादब्लम हिमालबाट गत चैत ३१ गतेदेखि जेठ १५ सम्म २७ हजार ६७१ किलो  फोहोर सङ्कलन गरिएको थियो।

अभियानका क्रममा सङ्कलन गरेको नकुहिने २५ हजार १६६ फोहर प्रशोधनका लागि काठमाडौं ल्याएर सम्वन्धित संस्थालाई हस्तान्तरणका साथै कुहिने २ हजार ५०५ किलो सम्वन्धित क्षेत्रका स्थानीय तहलाई बुझाइएको थियो। यस क्रममा धौलागिरी हिमालको आधार शिविरमा भेटिएका दुई शव र सगरमाथाको चौथो क्याम्पमा फेला परेका दुई शव उचित व्यवस्थापनका लागि सम्बन्धित अधिकारीलाई बुझाईएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कदरपत्र हस्तान्तरण कार्यक्रममा उपरथी भण्डारीले अभियानले हिमाल सफाई सम्बन्धमा आम जनतालाई सूसूचित गराउन, मुलुकको अमूल्य नीतिका रुपमा रहेका हिमालको मनोरम कायम राख्न तथा नागरिक–सैनिक सम्वन्ध विस्तार र सहकार्यमा नमूना प्रस्तुत भएको बताए।

सेनाले सन् २०१९ मा सगरमाथा हिमाल सफाइका क्रममा १० टन फोहरसगै विभिन्न मितिमा हिमाल आरोहरणका क्रममा ज्यान गुमाएका ४ आरोहिको शव काठमाडौं ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको थियो। सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक हिमांशु खड्काले सेनाको अगुवाईमा ४३ सैनिक र ६९ गैरसैनिक सम्मिलित पाँच टोली बनाएर अभियानका क्रममा छ हिमालबाट फोहर सङ्कलन गरिएको जानकारी दिए। 

 ‘हिमाल हाम्रो शान भएकाले जति सक्दो सफा राखौ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियान निकै प्रभावकारी भएको सो अवसरमा जानकारी दिइयो। वन तथा वातावरण मन्त्रालय वातावरण महाशाखाका महानिर्देशक धनन्जय पौडेलले अभियानमार्फत हिमालको महत्व र सरसफाई सम्वन्धमा ठिक ढंगबाट जनचेतना प्रवाह भएको बताए। अभियानका क्रममा तीन जना सैनिक र दुई जना गैरसैनिकले आमादब्लम हिमालको सफल आरोहणसमेत गरेका थिए। कार्यक्रममा अभियान सफल तुल्याउन सहयोग पुर्याउने संघ संस्थालाई समेत प्रतिनिधिमूलकरुपमा प्रशंसा पत्र प्रदान गरियो। 
 

Logo