साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
कोरोना महामारीको दोस्रो लहरपछि निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञा लागू भए पनि शेयर बजारमा लगानीकर्ताको उत्साह कायमै रहेको छ। निषेधाज्ञापछि नै नेप्सेले लगातार नयाँ रेकर्ड बनाउदै आएको छ।
आज लगानीकर्ताहरुको आकर्षण बैंकिङ क्षेत्रमा हुँदा नेप्से परिसूचक हालसम्मकै उच्च अंकमा पुगेको हो।
नेप्से परिसूचक ५०.१३ अंकले बढेर २ हजार ९०६.८९ अंकमा पुगेर बन्द भएको छ। यसअघि सबैभन्दा बढी गत बिहीबार नेप्से परिसूचक २९ अंकले बढ्दै २८५६.६७ विन्दुमा रोकिएको थियो।
आज ९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । ६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ।
आज २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४.५ रुपैयाँमा कारोबार भएको छ। यसअघिको उच्च कारोबार १७ अर्ब २८ करोड ८४ लाख ३२ हजार २४४.९१ रुपैयाँ थियो।
आज महिला लघुवित्तको शेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने गुडविल फाइनानसको शेयर मूल्य ९.८९ प्रतिशत, लुम्बिनी विकास बैंकको शेयर मूल्य ९.८८ प्रतिशत र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ।
उपसमूहतर्फ लगानी समूहमा ३.९७ प्रतिशत, विकास बैंक २.३८ प्रतिशत र बैंकिङ उपसमूह ३.६६ प्रतिशतले बढेको छ।
त्यस्तै आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर १ अर्ब २१ करोड रूपैयाँको कारोबार भयो। यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८३ करोड रूपैयाँको कारोबार भयो। आज महिला लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।





























प्रतिक्रिया